चैत २ देखि २५ करोडको बैदेशिक रोजगार बचतपत्र



काठमाडौं । नेपाल राष्ट्र बैंकले फेरि बचतपत्र निष्काशन गर्ने भएको छ । यही चैत २ देखि २४ गतेसम्मका लागि राष्ट्र बैंकले २५ करोड रुपैयाँ बराबरको बचतपत्र बिक्री गर्ने भएको हो ।

राष्ट्र बैंकका अनुसार कम्तीमा ५ हजार रुपैयाँ र बढीमा ५ हजारले निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्मका लागि आवेदन दिन सकिने छ । बचतपत्र खरिदकर्ताले प्रत्येक ६ महिनामा १० प्रतिशतका दरले व्याज भुक्तानी पाउने छन् ।

यो बचतपत्र ५ वर्षका लागि हो । बचतपत्रमा मुलुक बाहिर रोजगारीमा रहेका वा रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यका नाममा खरिद गर्न सक्नेछन् ।

यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने छ ।

गत माघ १७ गतेदेखि फागुन १५ गतेसम्म ५० करोड रुपैयाँ बचतपत्र निष्काशन गर्दा ४ करोड १२ लाख रुपैयाँ बराबरको मात्रै बिक्री भएको थियो ।

सरकारले आर्थिक वर्ष २०६५र६६ सालदेखि बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी बैदेशिक रोजगार बचतपत्र निष्काशन गर्दै आएको छ ।

रेमिटान्सको ९० प्रतिशत बढी रकम उपभोगमा खर्च भएको प्रति चिन्ता व्यक्त गर्दै रेमिट्यान्सलाई पुँजी निर्माणमा लगाई राष्ट्रिय उत्पादकत्व बढाउन सरकारले बचतपत्रको अबधारणा ल्याएको हो ।

तर, सो बचतपत्र निष्काशनको तुलनामा अत्यन्तै कम मात्रै बिक्री हुँदै आएको छ ।

यसरी बचतपत्र नबिकेपछि त्यसको कारण पत्ता लगाउन राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी कतार र दुबै गएका छन् । शुक्रबार उनले कतार दूताबासमा त्यहाँ रहेका नेपालीहरुसँग भेटघाट गर्दैछन् । त्यसपछि आगामी सोमबार दुबईमा नेपाली समुदायसँग भेट गर्ने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस्- बैदेशिक रोजगार बचतपत्र बेच्न कतार र दुबई हिँडे डेपुटी गभर्नर 


पुष्प दुलाल