भारतीय एसएसबीको गोली लागेर नेपाली युवकको मृत्यु



कञ्चनपुर । कञ्चनपुरको पुनास नगरपालिकास्थित कारगिलडाँडा क्षेत्रमा स्थानीय सडकमा ह्ुमपाइप राख्ने विषयमा नेपाली र भारतीय पक्षबीच झडप हुँदा एकजना नेपाली युवकको मृत्यु भएको छ ।

नेपाल–भारत २०० नम्बर सीमास्तम्भमा पर्ने स्थानमा नेपालीले कल्भर्ड निर्माण गरी पानीको निकासका लागि ह्ुमपाइप राख्ने विषयमा नेपाली र भारतीय नागरिकबीच विवाद हुँदा दोहोरो ढुंगा हानाहान भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । स्थिति नियन्त्रणमा लिन भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर पुनर्वास नगरपालिका–८ का २५ वर्षीय गोविन्द गौतमको मृत्यु भएको जिल्ल प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताए ।

एसएसबीको गोली लागेर गम्भीर घाइते भएका गौतमलाई उपचारका लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । ह्ुमपाइप राख्न भारतीय पक्षले अवरोध गरेपछि आक्रोशित नेपालीले भारतीय भूमिमै गएर उनीहरुलाई लखेटेपछि दोहोरो झडपको स्थिति बनेको इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीले जनाएको छ ।

प्रहरीका अनुसार भारतीय एसएसबीले छ राउन्ड हवाईफायरसमेत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्द पनि घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ । पुनर्वासका स्थानीयवासीले भारतको स्थानीय सहर बसाइन जाने बाटोमा ह्ुमपाइप राखिरहेका थिए । पुनर्वास क्षेत्रमा सीमा अतिक्रमणको विषयलाई लिएर यसअघि पनि किचलो हुने गरेको थियो ।
यस्तै घटनाको यस्तै घटनाको बारेमा गृहमन्त्रालयले पनि विज्ञप्ती जारी गरेको छ । यसलाई दुखत भनेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्ती जारी गरेर मृत्यु हुने गौतमलाई श्रद्धान्जली दिदै स्वतन्त्र देशको नागरिक यसरी मृत्यु हुने कुरा सह्य नहुँने बताएका छन् ।
घटनापछि नेपाल सरकार र भारतीय पक्षबीच तीन बुँदे सहमती भएको छ ।
भारतको उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लाका डिएम आकाश दीप र कञ्चनपुरका प्रजिअ मनोहरप्रसाद खनालबीच भएको छलफलमा सो सहमति भएको हो । तीनबुँदे सहमति भएसँगै सीमा क्षेत्रमा देखिएको तनावको अन्त्य भएको छ ।

विवादित सीमा क्षेत्रमा दुवै देशको संयुक्त सर्भे टोलीले रेखाङ्कन गरी सीमा विवाद हल गर्ने, एसएसबीले गोली प्रहार गरेर नेपालीको मृत्यु भएको देखिए छानबिन गरेर दोषीमाथि कारबाही र मृतकको परिवारलाई क्षतिपूर्ति दिने र स्थानीयस्तरमा देखिने सीमा समस्या नेपाली सशस्त्र प्रहरी र एसएसबीले समन्वय गरेर हल गर्ने तथा माथिल्लो निकायमा विवादबारे समयमै जानकारी गराउने सहमति भएको प्रजिअ खनालले जानकारी दिए । रासस


क्लिकमान्डु