जाजरकोट बस दुर्घटनाः २५ को मृत्यु




जाजरकोट । सदरमुकाम खलङ्गाबाट साल्मा–५ खारातर्फ गइरहेको ना ३ ख २२७९ नं को यात्रु बस आज पासागाड खोलामा दुर्घटनाग्रस्त हुँदा २५ जनाको मृत्यु भएको छ ।

भेरीमालिका नगरपालिका–४ पासागाडमाथि घुमाउरो सडकबाट करिब ४ सय मिटर तल खसेर बस दुर्घटना भएको हो । दुर्घटनामा परी ४१ जना घाइते भएको प्रहरीले बताएको छ । सदरमुकामबाट ४३ यात्रु लिएर गुडेको सो बसमा थप यात्रु चढेको घाइतेको भनाइ छ । अहिलेसम्म १५ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भेरीमालिका नपा–४ का गणेश बोहोरा र नदिल चन्द, भेरीमालिका–३ का शान्त सुनार, भेरीमालिका–१० का सन्तोष चन्द, भेरीमालिका–११ का गोपाल सुनार, बहादुर भण्डारी र शर्मिला सुनार, दसेरा–१ का डिलबहादुर बुढा र दसेरा–२ का मनिराम जैसी, सिमा–९ का मदन पुन, लहँ–४ का रामबहादुर बस्नेत, साल्म–५ का नन्दलाल जैसी, पजारु–८ का नैने दमाईं, मजकोट–७ का दले तिरुवा र रुकुम चौरजहारीका कृष्णबहादुर गिरी छन् । अन्य मृतकको सनाखत हुन सकेको छैन ।
घाइते बिनाकुमारी खत्रीले सदरमुकामबाट एउटै सिटमा तीन जनालाई जर्बजस्ती राखेर बस गुडाएको र सहचालकले प्रहरीलाई नभन्नु भनेर यात्रुलाई हप्काएको बताइन् । ‘बसपार्कबाट अलि पर खोलामा पुगेपछि दर्जनभन्दा बढी मान्छे गाडीको कोलिया भरिभराउ हुने गरी हालेर जथाभाबी बस हाँकिएको थियो,’ उनले भनिन्,‘ हामीले धेरै नहाँक भन्दा पनि केही मानेनन् र एक्कासि २० मिनेटमा बोहरा नजिक मोडमा पुग्दा बस मोड्नुपर्ने ठाउँमा सिधै पर्खाल बाहिर गयो ।’ उनले चालकले मदिरा सेवन गरे जस्तो पनि देखिएको र यात्रुहरु कोचाकोच गरेर राखेको बताइनन् ।
अर्का घाइते रोकायगाउँ गाविसका सचिव टीकाराम रावतका अनुसार बस तीव्र गतिमा थियो, मानिस धेरै हालेका कारण टाउको समेत ठाडो गरेर बस्ने अवस्था थिएन । बच्चाहरु रोइरहेका थिए ।
यस्तै सरकारले जाजरकोटको भेरीमालिका नगरपालिकामा आज भएको बस दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धारका लागि नेपाली सेनाको नाइटभिजन हेलिकोप्टर परिचालन गरेको छ ।

दुर्घटनाको खबर पाउनेबित्तिकै उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले घाइतेको तत्काल उद्धारका लागि नाइटभिजन हेलिकोप्टर पठाउन दिनुभएको निर्देशनबमोजिम नै उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए ।

रासस


क्लिकमान्डु