३० करोडको सुन्तला निर्यात, १० प्रतिशतले उत्पादनमा वृद्धि



सल्यान  ।  सल्यानमा चालु आर्थिक वर्ष २०७३/७४ मा झन्डै ३० करोड रुपैयाँको बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला सुदृढीकरण अभियान बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि,अनकूल मौसमका कारण यस वर्ष उत्पादन वृद्धि भएको हो ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष सल्यानमा २९ करोड ८१ लाख ३२ हजार बराबरको सुन्तला उत्पादन भएको छ ।

अघिल्ला वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको हो । एक हजार १२ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट आठ हजार आठ सय ७३ मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयले जनाएको छ  ।

सुन्तला खेतीको पकेट क्षेत्रका कृषकले सहकारी समूह बनाएर काम गरिरहेका छन् । अन्य गाविसमा पनि केही कृषकले व्यावसायिक रुपमा खेती गर्न थालेका छन् । उत्पादित सुन्तलाले सोचेभन्दा पनि राम्रो बजार पाउन थालेपछि सुन्तला खेतीतर्फ कृषको मोह बढेको हो ।

कार्यालयले कोटमौला, कोटबारा दमाचौर, पिपलनेटा, थारमारे, सिद्धेश्वरी, फलाबाङ, मार्के र घाजरीपिपल गाविसलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरेको छ ।


क्लिकमान्डु