पहुँचवालाको गृहजिल्लामा रकमान्तर गरेर लगियो झण्डै १ अर्ब




काठमाडौं । प्रधानमन्त्री, अर्थमन्त्री र उर्जामन्त्रीको गृहजिल्लामा ठूलो परिमाणमा रकमान्तर गरेर बजेट लगिएको सार्बजनिक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाले आफ्नो गृहजिल्ला चितबन, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफ्नो गृहजिल्ला रोल्पा र उर्जामन्त्री जनार्दन शर्माले आफ्नो गृहजिल्ला रुकुममा ठूलो परिमाणमा बजेट लगेका हुन् ।

बिहिबार ब्यवस्थापिका संसदको अर्थसमितिले आयोजना गरेको छलफलमा अर्थमन्त्रालयले यस्तो जानकारी दिएको हो । प्रधानमन्त्री दाहालको गृहजिल्लामा ४ दर्जन आयोजनाको लागि बजेट उपलब्ध गराइएको छ ।

प्रधानमन्त्री दाहालको गृहजिल्लामा ४८ आयोजनाको लागि २१ करोड ६५ लाख रुपैयाँ बजेट रकमान्तर गरी लगिएको छ । बजेटमा नपरेको आयोजनाको लागि अर्थले अन्य निकायको बजेट कटौति गरेर चितबनका आयोजनालाई रकम उपलब्ध गराएको हो ।

अर्थमन्त्रालयले प्रधानमन्त्री दाहालको गृहजिल्ला चितवनको मिलिजुली युवा क्लब, पदमपूरलाई ३५ लाख रुपैयाँ रकमान्तर गरी उपलब्ध गराएको छ । यस्तै मानब अधिकारवादी दलितबस्ती समाज पदमपूरलाई पनि ३५ लाख रुपैयाँ नै उपलब्ध गराइएको छ । यसरी रकम पाउने अन्य आयोजना र संस्थाको संख्या ४८ छ ।

प्रधानमन्त्री दाहाल सिराह जिल्लाको क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए । तर बजेट रकमान्तर गर्ने प्रयोजनको लागि भने उनको निर्वाचन क्षेत्र प्राथमिकतामा परेको छैन ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको गृहजिल्लामा प्रधानमन्त्रीको गृहजिल्लाको भन्दा पनि बढी रकम लगिएको छ । महराको गृह जिल्ला रोल्पामा ११३ आयोजनाको लागि ४२ करोड रुपैयाँ रकमान्तर गरिएको छ ।

अर्थमन्त्री महराको गृहजिल्लामा अधिकांश रकम सडक आयोजनाको लागि दिइएको छ ।

उर्जामन्त्री शर्माको गृहजिल्ला रुकुममा करिब २३ करोड रुपैयाँ रकमान्तर गरी लगिएको छ । रुकुमका विभिन्न ३६ आयोजनालाई रकमान्तर गरी २२ करोड ८७ लाख रुपैयाँ उपलब्ध गराइएको हो ।

उर्जामन्त्रीको गृहजिल्लामा पनि सडक आयोजनाको लागि नै बजेट दिइएको छ । उर्जामन्त्रीको निर्वाचन क्षेत्रमा पर्ने सडकमध्ये ११ सडक आयोजनालाई प्रतिआयोजना १÷१ करोड रुपैयाँको दरले र बाँकी २० लाखदेखि ५९ लाख रुपैयाँसम्म रकमान्तर गरी बजेट उपलब्ध गराइएको हो ।

समितिको बैठकमा उपप्रधान तथा अर्थमन्त्री महराले यस्तो रकम निर्वाचन घोषणा हुनु अघि नै रकमान्तर गरिएको जानकारी दिए ।

पुँजीगत बजेट खर्च नभएकोले खर्च नगर्ने आयोजनाको बजेट कटौति गरेर खर्च नपुग भएका आयोजनालाई उपलब्ध गराइएको उनको भनाइ छ । यसरी रकमान्तर गर्दा बजेट दुरुपयोग भएकोप्रति सांसदहरुले उठाएको प्रश्नमा सत्यता नभएको महराको दाबी छ ।

‘निर्वाचन घोषणा हुनुपूर्व नै रकमान्तर भइसकेको थियो, रकमान्तर भएको ठूलो रकममा अनियमितता भएको छैन,’ महराले भने ।

बढी रकमान्तर हुने जिल्लाहरुमा यी बाहेक स्थानीय बिकास मन्त्री हितराज पाण्डेको गृहजिल्ला गोर्खा, सिंचाइमन्त्री दीपक गिरीको दाङलगायत रहेका छन् ।

पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेस नेता डा. रामशरण महतलगायतका सांसदहरुले अर्थमन्त्री महरालाई आफ्नो निर्वाचन क्षेत्रमा बढी बजेट लगेको आरोप लगाएका थिए । यसको जवाफ दिदै अर्थमन्त्री महराले आफूले कुनै पनि जिल्ला नहेरी मन्त्रालयबाट आएको मागको आधारमा बजेट उपलब्ध गराइएको दाबी गरे ।

‘नुवाकोटमा पनि ३२२ आयोजनाको लागि थप बजेट माग भएको छ, बजेट दिने निर्णय भएको छैन,’ उनले भने । नुवाकोट पूर्वअर्थमन्त्री डा. महतको गृहजिल्ला हो ।

महराको यस्तो जवाफपछि डा. महतले ‘मैले बजेट मागेको छैन, कसले माग्यो’ भन्दै अर्थमन्त्रीसँग नाम मागेका थिए । तर अर्थमन्त्री महराले नाम सार्बजनिक गर्न नमिल्ने भन्दै टारेका थिए ।


क्लिकमान्डु