खानेपानी संस्थानले अब खानेपानीको जारको व्यापार गर्ने



 


काठमाडौं । खानेपानी संस्थानले २० लिटरको खानेपानीको जार दुई हप्ताभित्र बजारमा ल्याउने भएको छ ।

सरकारी निकायले जार र मिनरल वाटरको व्यवसायमा हात हालेको हो ।

काभ्रेपलाञ्चोकको पनौतीमा उत्पादन गरी प्रशोधन गरिएको पानीको जारको मुल्य ५२ रुपैयाँ कायम गरिएको संस्थानका कामु प्रबन्धक भूपेन्द्र प्रसादले जानकारी दिए । संस्थानले पानी उत्पादन गरी वितरण गर्न सम्पूर्ण तयारी पूरा गरेको छ ।

सबै सरकारी कार्यालयमा पानी वितरण गर्न मन्त्रालयले सहयोग गर्ने खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले बताए । संस्थानले उत्पादन गरेको पानी गुणस्तरीय रहेको जनाइएको छ । सरकारी संस्थानले पहिलो पटक मिनरल वाटर बजारमा ल्याउन लागेको हो ।

संस्थानले विसं २०६४ सम्म उपत्यकालगायत देशका प्रमुख सहरमा खानेपानीको व्यवस्थापन गर्दै आएको थियो ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले २०६४ फागुन १ गतेदेखि उपत्यकाको खानेपानीको व्यवस्थापन गर्ने जिम्मेवारी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) लाई दिएको छ । संस्थानले भने हाल उपत्यका बाहिरका सहरमा मात्र पानीको व्यवस्थापन गर्दै आएको छ । रासस


क्लिकमान्डु