धौलागिरि अञ्चलमा कुखुरा ओसारपसारमा पूर्ण प्रतिबन्ध



पर्वत । कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि धौलागिरि अञ्चल प्रवेश गर्ने नाकाबाटै कुखुरा आयातमा प्रतिबन्ध लगाइएको छ । धौलागिरि अञ्चलको नाकामा पर्ने पर्वतबाटै पंक्षी तथा पंक्षीजन्य पदार्थ भित्र्याउन रोक लगाइएको हो ।

जिल्ला पशुसेवा कार्यालयले मङ्गलबार देखि नै कुखुरा ओसारपसारमा पूर्णरुपले प्रतिबन्ध लगाइएको जानकारी दिएको हो । दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा, चल्ला र दानालाई जिल्लामा भित्रिन नदिने गरी प्रतिबन्ध लगाइएको कार्यालयका प्रमुख डा सुधीर थापाले बताए ।

‘सोमबारसम्म भेटेनरी चिकित्सकबाट इजाजत पाएका कुखुरालाई भित्रिन दिए पनि मङ्गलबारबाट पूर्णरुपले प्रतिबन्ध लगाइएको छ,’ उनले भने, ‘धौलागिरिको मुख्य प्रवेशद्वार डिमुवा, पर्वत र बागलुङको सिमानामा पर्ने मालढुङ्गामा कुखुरा जाँचका लागि प्रहरीको सहयोगमा कर्मचारी परिचालन गरिएको छ ।’

धौलागिरि, पर्वतलगायत बागलुङ र म्याग्दी जिल्लामा रहेका पोल्ट्री फार्म तथा मासु व्यवसायीले तराई क्षेत्रबाट सस्तोमा कुखरा, अन्डा, चल्ला र दाना ल्याउने गरेका छन् । प्रायजसो पोखरा बागलुङ राजमार्ग हुँदै कुखुरा आयात हुने गरेपनि केही व्यवसायीले बुटवल हुँदै बागलुङको बुर्तिवाङबाट कुखुरा भित्र्याएको जानकारी पाएपछि अहिले पर्वत र बागलुङको सिमानामा पर्ने मालढुङ्गामा समेत कर्मचारी परिचालन गरिएको डा. थापाले जानकारी दिए।

धौलागिरिमा दैनिक दुई हजारदेखि दुई हजार ५०० सम्म कुखुरा भित्रिने गरेको बताइन्छ । धौलागिरिका तीनवटै जिल्लामा मासुका लागि स्थानीय कुखुरा पर्याप्त भएपनि केही व्यवसायीले सस्तो हुनाले बाह्य जिल्लाबाट आयात गर्ने गरेका हुन् ।

बर्डफ्लुको चर्चासँगै जिल्लामा कुखुरा भित्रिन छाडेपछि कुखुराको मासुको मूल्य ह्वात्तै बढेको छ । एक साताअघि प्रतिकिलो ३६० रुपैयाँमा पाइने मासु अहिले ४४० रुपैयाँमा बिक्री हुँदै आएको छ ।