तेह्र साना सिँचाइ उपआयोजना छनौट, २० वटा द्वन्द्व प्रभावित कृषक कार्यक्रम पारित



जुम्ला । चालु आवका लागि यहाँका १३ साना सिँचाइ उपआयोजना र २० द्वन्द्व प्रभावित कृषकलाई छनौट गरिएको छ ।

कृषि कार्यालयमा परेका २५ निवेदनमा जिल्ला कृषि विकास समिति,जुम्लाले छनौट गरेको १३ उपआयोजना र द्वन्द्व प्रभावित कृषि कार्यक्रमअन्तर्गत परेका एकसय १४ निवेदनमा २० द्वन्द्व प्रभावित कृषक कार्यक्रम जिल्लास्थित सरोकारवालाबीच बसेको बैठकले सञ्चालनका लागि पारित गरेको छ ।

कृषि समूहमार्फत सञ्चालनमा आउने १३ उपआयोजनामा नेपाल सरकारको ८५ प्रतिशत अनुदान रहेको बताउँदै वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले द्वन्द्व प्रभावित प्रतिकृषकलाई ४० हजार रुपैयाँ तरकारी खेतीका लागि रकम प्रदान गरिने जानकारी दिए । ‘हामीले प्रति उपआयोजनाका लागि एक लाख रुपैयाँदेखि एकलाख ५० हजार रुपैयाँका हिसाबले १७ लाख ३० हजार रुपैयाँ बजेट वितरण गरेका छौँ,’ कँडेलले भने ।

प्रतिद्वन्द्व प्रभावित कृषकलाई ४० हजार रुपैयाँका दरले वितरण गर्दा भने सामूहिक वा एकल खेती, स्वरोजगारको अवस्था, कृषि सेवाबाट लाभान्वित भए/नभएको, घरको सदस्य गुमाएको, अङ्गभङ्ग वा विस्थापित भएको लगायतका सूचकका आधारमा छनोट गरिएको अधिकृत कँडेलले बताए ।

गोष्ठीमा समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले कार्यक्रम पारदर्शिताका लागि धन्यवाद दिँदै सकेसम्म आर्थिकरुपले विपन्न र पहुँचविहीन द्वन्द्वप्रभावित कृषकलाई सेवासुविधा प्रवाह गर्न सुझाए।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले छनौटमा परेका तर नेपाल सरकारको सुविधा दोहोरिएका पीडितका बारेमा पुनर्विचार गर्न सल्लाह दिए। बैठकका सहभागीले मन्त्रालयबाट लादिएका कार्यक्रमभन्दा स्थानीयस्तरमा प्रशासन, जिशिका, शान्ति समिति, वन, कृषि लगायतका सरकारी निकायबाट लाभ प्राप्त गरेका बाहेकलाई सेवा प्रदान गर्न आग्रह गरेका थिए ।


क्लिकमान्डु