फरवार्ड कम्युनिटीको सेयर बाँडफाँडमा अनियमितता भएको भन्दै धितोपत्र बोर्डमा उजुरी



काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले केही समयअघि निष्काशन सेयर बाँडफाँडमा अनियमितता भएको भन्दै छाविनका लागि धितोपत्र बोर्डमा उजुरी परेको छ । आफ्नो आवेदन नम्बरमा अर्कैलाई सेयर परेको भन्दै पीडितहरु लक्ष्मी भट्टराई, सञ्जय भण्डारी र यसोदा न्यौपानेले संयुक्तरुपमा उजुरी दिएका हुन् ।

यो पनि पढ्नुहोस्- रेवतबहादुरज्यू, यो पढ्नुहोस् त- जब एउटाको आबेदन नम्बरमा अर्कैलाई सेयर पर्यो,… 

माइक्रोफाइनान्सको सेयर आवेदनमा उनीहरुले दिएको आवेदन नम्बर क्रमशः १५०५७, १५०५८ र १५०५९ हो । तर, सेयर निष्काशक तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्टले गरेको सेयर बाँडफाँडको नतिजामा सो आवेदन नम्बरमा क्रमशः राजनश्रेष्ठ, गौरी शंकर श्रेष्ठ र रुपक धनवन्तरीलाई सेयर बाँडफाँड गरिएको छ ।

यसरी आफ्नो आवेदन नम्बरमा अर्कैलाई सेयर परेपछि न्याय खोज्दै बोर्ड पुग्नुपरेको पीडित सञ्जय भण्डारीले क्लिकमाण्डूलाई बताए ।

यस्तो छ, उनीहरुले बोर्डमा दिएको उजुरी
श्री अध्यक्षज्यू
नेपालधितोपत्रबोर्ड
जावलाखेल, ललितपुर

विषयः सेयर बाँडफाँडमा भएको अनियमितताको छानबिन गरी पाउँ ।

महोदय,

उपरोक्त सम्बन्धमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको सेयर बाँडफाँडमा केही गंभीर किसिमका त्रुटि र अनियमितता भएको र त्यसबाट हामी निवेदकसमेत पीडित भएकाले बोर्डबाट छानबिन भई न्याय पाउँन यो निवेदन पेश गरेका छौं ।

हामी लक्ष्मी भट्टराई, सञ्जय भण्डारी र यसोदा न्यौपानेले क्रमशः १५०५७, १५०५८ र १५०५९ नम्बरको आवेदन फारमबाट फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको सेयर आवेदन गरेकोमा बाँडफाँडपछि नबिलइन्भेष्टले प्रकाशन गरेको अन्तिम नतिजामा उल्लेखित आवेदन नम्बरहरुमा क्रमशः राजनश्रेष्ठ, गौरी शंकर श्रेष्ठ र रुपक धनवन्तरीलाई सेयर बाँडफाँड गरिएको उल्लेख छ ।

यसले एउटै आवेदननम्बरबाट दुई वा सो भन्दा बढी आवेदन संकलन गरी एक मात्र आवेदकलाई सेयर बितरण गरिँदा सो आवेदन नम्बरबाट आवेदन गरेका हामीहरु मर्कामा परेका छौं ।

हामीले हामीलाई परेको समस्याका सम्बन्धमा विभिन्न समाचारमाध्यममा गुनासो राखेपछि समाचार प्रकाशित भएको केही बेरमा नै नबिल इन्भेष्टमेण्ट बैंकिंगले आफ्नो वेबसाइटमा राखेको आवेदन नम्बरबाट हेर्न सकिने सेयर नतिजा हटाएर हितग्राही खाताबाट मात्र नतिजा हेर्न सकिने फाइल राखेको व्यहोरा पनि अनुरोध छ । यसले पनि फरवार्ड कम्युनिटीको सेयर बाँडफाँडमा व्यापक अनियमितता गरेको प्रमाणित भएको हाम्रो बुझाई छ ।

सेयर बाँडफाँडको नतिजाको तथ्यांक तथा विबरण किन एकाएक परिवर्तन गरियो भन्ने सम्बन्धमा पनि बोर्डले उचित छानबिन गरी सेयर बाँडफाँडमा भएका अनियमितता सार्वजनिक गरी हामी जस्ता साना लगानीकर्तालाई न्याय दिलाउने अपेक्षा हामीले गरेका छौं ।

साथै के कति कारणले आवेदन नम्बर र नाम फरक परेको हो, एउटै नम्बरका दुई वादुईभन्दा बढी आवेदन फारमहरु के कसरी बितरण भए, त्यसमा दोषीहरु को को हुन् ? भन्ने कुरा छानबिन गरी आम लगानीकर्ताहरुलाई यथार्थ जानकारी गराउनुपर्नेमा सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिलइन्मेष्ट र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स दुवै गैरजिम्मेवार देखिएको व्यहोरा पनि अनुरोध गर्दछौं ।

हामीले नक्कली सेयर आवेदन फारमबाट सेयर आवेदन गरेका हैनौं । यति हुँदाहुँदै हामीलाई उपलब्ध गराइएको अर्धकट्टीमा उल्लेखित आवेदन नम्बरमा अरु व्यक्तिलाई सेयर प्रदान गरिँदा सम्पुर्ण सेयर बाँडफाँड प्रक्रिया नै अस्वस्थ र संकास्पद भएको हाम्रो बुझाई छ ।

हामी जस्तै आफ्नो आवेदन नम्बरमाअरुले सेयर पाएका धेरै लगानीकर्ताहरुले सामाजिक सञ्जालहरुमा आवाज उठान गर्नुले पनि यसलाई पुष्टि गर्छ । तसर्थ यस सम्मानित धितोपत्र बोर्डमा न्यायको माग गर्दै सेयर बाँडफाँड प्रक्रियामाभएको नियमितताको छानबिन गरी हामीजस्ता बजारका नवप्रवेशी लगानीकर्तालाई न्याय दिलाई दिनुहुन प्रमाणहरु संलग्न गरी निवेदन गरेका छौं ।

निवेदक:

लक्ष्मी भट्टराई सेयर आवेदननम्बर १५०५७
सञ्जय भण्डारी सेयर आवेदननम्बर १५०५८
यसोदा न्यौपाने सेयर आवेदननम्बर १५०५९

बोधार्थ:
नबिल इन्भेष्टमेण्ट बैंकिङ लि. नक्साल, काठमाण्डौं


पुष्प दुलाल