निजी क्षेत्रको सहयोगमा पूर्वाधार विकास बैंक स्थापना गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले निजी क्षेत्रको सहयोगमा पूर्वाधार विकास बैंक स्थापना गर्ने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वाधार विकास बैंक खोल्ने निर्णय गरेको हो ।

ठूला पूर्वाधार क्षेत्रमा लगानी गर्नको लागि पूर्वाधार विकास बैंकको अवधारणा आएको हो । यसको न्यूनतम चुक्ता पुँजी २० अर्ब हुने छ । यद्यपी बैंक स्थापना हुने समयमा यो बढ्न सक्ने छ । बाफियामा पनि पूर्वाधार विकास बैंकको लागि स्वदेशी तथा विदेशी लगानीमा खोल्न सकिने कुरा उल्लेख छ ।

यस्तै सरकारले स्थानीय निकायको पुनः संरचनासम्बन्धी आयोगको प्रतिवदेन अध्ययन गरी सुझाव दिन गठित समितिको म्याद तीन दिन थपेको छ ।

समितिले थपिएको अवधिमा पुनः संरचना आयोगको प्रतिवेदनलाई राजनीतिक सहमतिका साथ अध्ययन गरी पुनः संरचनाको समस्या हल गर्ने र प्राप्त गुनासालाई मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय भएको संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले जानकारी दिए ।

यसअघि सरकारले प्रतिवदेन अध्ययन गरी सुझाव दिन स्थानीय विकासमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरी एक साताको समय दिएको थियो । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य क्षेत्रको व्यवस्थापन सुधार कार्यक्रम कार्यान्वयनका लागि विश्व बैंकको १५ अर्ब ९३ करोड ऋण सहयोग स्वीकार गर्र्ने निर्णय गरेको उनले बताए ।

साथै सरकारले वन क्षेत्रको सुरक्षा गर्न नेपाली सेनाका सात सय जनशक्ति कामकाजमा खटाउने निर्णय गरेको छ ।

बैठकले बाँकेमा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ स्थापना गर्ने र विद्यमान बजेटको सीमाभित्र रहेर विभिन्न कार्यक्रममा आवश्यक पर्ने रकम पठाउने निर्णय गरेको मन्त्री पाण्डेले जानकारी दिए ।


क्लिकमान्डु