आन्तरिक उडानका लागि २० नयाँ विमान थपिदैं



काठमाडौं । स्वदेशी वायुसेवा कम्पनीहरूले यसै वर्षभित्र आन्तरिक उडानको लागि २० थान नयाँ विमानहरु थपिदैं छन् ।

सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले चिनियाँ ४ वटा जहाजमा दुई वटा काठमाडौं आइसकेको छ । दुई थान जहाज आउने क्रममा रहेको छ । भने निजी क्षेत्रका चार वटा एयरलाइन्सले १३ वटा विमानहरु आउने क्रममा रहेका छन ।

आन्तरिक उडान गर्ने यति एयरलाइन्सले जेट स्ट्रिम विमानहरु विस्थापन गरेर एटिआर-७२ विमान ल्याउने योजना अन्तरगत ४ वटा जहाज खरिद गर्नको लागि मन्त्रालयमा प्रस्ताव गरेको छ ।

बुद्ध एयरले गत महिना मात्र एक थान जहाज काठमाडौं ल्याइसकेको छ । भने अर्को एटिआर-७२ जहाज जहाज पनि चैत भित्रै ल्याउने तयारी गरेको छ ।

कसले कति थप्दै ?
यति एयरलाइन्सले- ४ वटा (एटिआर-७२)
बुद्ध एयर-२ वटा (एटिआर-७२)
श्री एयरलाइन्स-२ वटा (जेट सिआरजे- २०० सिरिज)
नेपाल वायुसेवा निगम- ४ वटा (चिनियाँ १ एमए-६० ३ वाई-१२)
सिम्रिक एयरलाइन्स- ४ वटा (स्काई ट्रक)
गोमा एयर- २ वटा (एल-४१० यूभीपी)
सौर्य एयरलाइन्स- २ वटा (जेट सिआरजे-२०० सिरिज)

गोमा एयरले २ थान जहाज आइतावर मात्रै काठमाडौं ल्याएको छ । ५० प्रतिशत शेयर बिक्री गरेको सिम्रिक एयरलाइन्सले दुईवटा केही समय अगाडी मात्र थपेको छ भने ४ वटा स्काई ट्रक ल्याउने प्रक्रिया समेत सुरु गरेको छ ।

श्री एअरलाइन्सले पनि अव हेलिकप्टरसेवा बाट जहाज उडान सुरु गर्दै छ । जसले अनुमती लिएर २ वटा जहाज खरिद प्रक्रिया समेत अगाडी बढाइसकेको छ ।

उडान अनुमती (एओसी) को प्रक्रिया अन्तिमचरणमा रहेकोले नागरिक उड्डयन प्राधिकरणबाट अनुमती पाउने वित्तिकै २ वटा जहाज नेपाल ल्याउने श्री एयरलाइन्सका प्रवन्ध निर्देशक सुधिर मित्तलले जानकारी दिए ।

जहाज ल्याउने वित्तिकै एयरलाइन्सले ५० सिट क्षमताको क्यानडियन कम्पनी बम्बाडियरको जेट सिआरजे-२०० सिरिजको जहाज खरिद गरेर नेपाल ल्याउने तयारी रहेको मित्तलले बताए ।

यति एयरलाइन्सले बुद्ध एयरले उडान गरिरहेको एटिआरकै सिरिज ल्याउने प्रक्रिया सुरु गरेको छ । यतिले ७२ सिट क्षमताका ४ वटा जहाज ल्याउने तयारी गरेको हो । यतिले हाल जेट स्ट्रिमका ७ वटा जहाज मार्फत आन्तरिक उडान भरिरहेको छ ।

गोमा एयरले गत वर्ष २ जहाज खरिद गरेकोमा आइतावर दुई थान जहाज भित्र्याएको छ । ‘आन्तरिक उडान भर्ने एयरलाइन्सहरु अहिले राम्रो गरिरहेकोले जहाज थप्ने काम धमाधम गरिरहेका छन,’ गोमा एयरका निर्देशक सुमन पान्डेले भने ।

गोमाले चेकोस्लोभाकियाको जहाज निर्माता कम्पनी एलईटीले उत्पादन गरेको एल-४१० यूभीपी (ई २० सिरिज)का २ जहाजले उडान गरिरहेको छ । गोमासँग हाल २ वटा सिंगल इन्जिन जहाजमार्फत दुर्गम क्षेत्रमा यात्रु चार्टर तथा कार्गो उडान गरिरहेको छ ।

नियमित उडान गरिरहेको सिम्रिकले पनि अमेरिकी कम्पनी सिक्रोस्कीले पोल्यान्डमा निर्माण गरेका ४ वटा एम-२८ स्काई ट्रक ल्याउने तयारी थालेको छ । सिक्रोस्कीसँग सम्झौता भइसकेको एयरलाइन्सले यसअघिनै जानकारी दिएको छ ।

१९ सिट क्षमताको यो जहाज दुर्गम उडानका लागि उपयुक्त हुने छ । यो जहाजबाट रामेछाप, लुक्ला, फाप्लु, सुर्खेत, जोमसोम, खानीडाँडासहितका दुर्गम क्षेत्रमा उडान गर्ने योजना छ ।

नेपाल वायुसेवा निगमले एक एमए ६० र ३ वटा वाई १२ ई जहाज खरिद अन्तरगत एक थान एमए-६० र एक थान वाई-१२ ई काठमाडौं ल्याएर उडान थालिसकेको छ ।

दुई वर्ष देखि उडान सुरु गरेको कम्पनी सौर्य एयरलाइन्सले पनि एउटा जहाज मार्फत उडान गरिरहेको छ । एयरलाइन्सले जेट सिआरजे-२०० सिरिजका थप २ जहाज ल्याउने प्रक्रिया सुरु गरिसकेको छ ।


क्लिकमान्डु