इन्भेष्टमेन्ट बैंक पाँचौं पटक ‘बैंक अफ दि इयर’बाट सम्मानित




काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक पाँचौं पटक ‘बैंक अफ दि इयर’बाट सम्मानित भएको छ । फाइनान्सियल टाइम्स लण्डनले बैंकलाई यो वर्ष पनि बैंक अफ दि इयरबाट सम्मान गरेको हो ।

बैंक अफ द इयरबाट सम्मानित हुने यो बैंक नेपालको एकमात्र बैंक हो । सन् १९८६ मा स्थापना भएको यो बैंकले ३० वर्ष पुरा गरेको छ । राष्ट्र बैंकद्धारा तोकिएको मितिभन्दा अगावै ८ अर्वको चुक्ता पूँजी पुराउने निजी क्षेत्रको पहिलो हो ।
बैंकले आफ्नो तीन दशकको सेवा अवधिमा व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तिुष्टिलाई उच्चस्तरमा कायम राख्न सफल भएको प्रेस बक्तव्यमा उल्लेख गरेको छ ।

बैंकले आफ्ना ४७ वटा शाखा, दुईवटा एक्स्टेन्सन काउन्टर, ८४ वटा एटिएम मेसिन र ४२ वटा शाखारहित संजालबाट ७ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ ।

गत आर्थिक वर्षमा २०७२/७३ मा बैंकले ४ अर्ब १३ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो भने बैंकको खुद नाफा २ अर्व ५५ करोड रुपैयाँ थियो । जुन अघिल्लो आर्थिक वर्षभन्दा क्रमश ३२.६ र ३० प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्व ५८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

दोस्रो त्रैमासिक सम्ममा चुक्ता पूँजी ८ अर्ब ७१ करोड स्पैयाँ रहेको छ भने शेयरधनी कोष १८ अर्ब रुपैयाँभन्दा बढी भई निजी बैंकहरूमध्ये सर्वाधिक पूँजी भएको बैक बनेको छ ।

बैंकको पूँजी पर्याप्तता अनुपात १४.२८ प्रतिशत छ भने बैंकले निस्क्रिय कर्जालाई ०.७० प्रतिशतमा सिमित पारेको छ ।


पुष्प दुलाल