विद्यालयलाई लाखौं सहयोग, समुदायस्तरबाट सहयोग जुटाएर पूर्णता



म्याग्दी । म्याग्दीको घार–५ मा रहेको मुक्तिमार्ग माविलाई एक परिवारले लाखौं सहयोग गरेका छन् ।

स्थानीयवासी टीकाबहादुर र उनका छोरा देवबहादुर खड्काले विद्यालयको भवन निर्माणका लागि १५ लाख ८५ हजार मूल्य बराबरको जग्गा र नगद सहयोग गरेको विद्यालयले जनाएको छ ।

खड्का परिवारबाट विद्यालयको आठकोठे भवन निर्माणका लागि  तीन लाख ५० हजार नगद सहयोग प्राप्त भएको भवन निर्माण समितिका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । देवबहादुर पर्यटन व्यवसायी हुन् ।

उनीहरुले गत वर्ष रु ११ लाखमा तीन रोपनी जग्गा खरिद गरेर एक लाख ३५ हजार रुपैयाँ खर्च गरी जग्गा सम्माएर विद्यालयलाई उपलब्ध गराएका थिए । जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको ६० लाख रुपैयाँ अनुदान भवन निर्माणमा अपुग भएपछि समुदायस्तरमा चन्दा सङ्कलन र श्रमदान अभियान सञ्चालन गरिएको थियो ।

भौगोलिक विकटताका कारण ढुवानी खर्च महँगो र देशभरका भवनको मापदण्ड एउटै भएकाले भवन अलपत्र पर्ने अवस्था आएपछि समुदायस्तरबाट सहयोग जुटाएर पूर्णता दिन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल बरुवालले जानकारी दिए । उक्त भवन निर्माण सम्पन्न गर्न करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

यसैगरी बेल्जियममा रहेका नारायण खड्काको पहलमा एक लाख २० हजार र जापानमा रहेका दधीवल खड्कामार्फत ५१ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । घार गाविस कार्यालयले पाँच लाख रुपैयाँ विनियोजन गरेको छ ।


क्लिकमान्डु