गरिबी निवारण गर्न सवै दल एकमत हुनुपर्छ: गरिबी निवारण कोषका उपाध्यक्ष डा थापा



काठमाडौँ । गरिबी निवारण कोषको नवनियुक्त उपाध्यक्ष डा यमबहादुर थापाले राजनीतिक दलको विचारधारा फरक भएतापनि गरिबी निवारणजस्तो संवेदनशील विषयमा भने एकमत र ऐक्यबद्धता हुनुपर्ने बताएका छन् ।

उनको स्वागतका लागि कोषमा आज आयोजित कार्यक्रममा बोल्दै उनले कोषलाई स्वाबलम्बी संस्थाको रुपमा विकास गर्न प्रयास गर्ने बताए । डा थापाले आगामी दिनमा अनुसन्धान, सिर्जनशील परियोजना, घुम्ती कोषको व्यवस्थापनमा जोड दिने र नेपाल सरकारको गरिबी निवारणको लक्ष्य प्राप्तिमा कोषलाई उन्मुख गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।

सरकारले गरिबी निवारण कोषमा गत सोमबार डा थापालाई उपाध्यक्ष नियुक्त गरेको हो ।

डा थापाले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् । यसअघि उनले राष्ट्रिय योजना आयोगको सदस्यको रुपमा काम गरिसक्नुभएको छ । यस्तै उहाँले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयमा गरिबी निवारण विशेषज्ञको रुपमा समेत काम गरिसकेका छन् ।

बाह्र वर्षदेखि संञ्चालित गरीवी निवारण कोषका कार्यक्रमले ५५ जिल्लामा ३० हजार सामुदायिक संस्था गठन गरेर ८ लाख गरीव घरधुरीलाई समेटेको छ ।


क्लिकमान्डु