त्रियुगा नदीमा फोहोर फाल्दा प्रदूषण बढ्यो



गाईघाट। उदयपुर जिल्लाको सम्पूर्ण क्षेत्र र सदरमुकाम गाईघाटको त्रियुगा क्षेत्र अढाइ वर्षअघि नै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको भए तापनि जिल्लाको सदरमुकाम गाईघाटस्थित त्रियुगा नदी किनार क्षेत्र अझै फोहोरमुक्त हुन सकेको छैन ।

त्रियुगा नदी क्षेत्रमा मनपरी फोहोर फाल्ने र दिसापिसाब गर्ने कार्य झन् बढ्दै गएपछि अहिले त्रियुगा नदी क्षेत्रमा झनै फोहोर र प्रदूषण बढ्दै गएको छ ।

स्थानीयवासी रत्नप्रसाद पोखरेल भन्छन्, ‘त्रियुगा नगरपालिका र त्रियुगा क्षेत्र खुलादिसामुक्त क्षेत्र घोषणा गरेको झन्डै तीन वर्ष भइसक्यो तर त्रियुगा नदी क्षेत्रमा भने अझैसम्म पनि मनपरी फोहोर फाल्ने, दिसापिसाब गर्ने कार्य नियन्त्रण नहुँदा नदी क्षेत्रमा दिनानुदिन दुर्गन्ध बढ्दै गएको छ ।’

त्रियुगा नगरपालिकाले समेत बजार क्षेत्रको सम्पूर्ण फोहोर नदी क्षेत्रमा नै फाल्ने गरेको र बजारका अन्य स्थानीयवासीले समेत विभिन्न वस्तु, मरेका घरपालुवा चौपाया जनावर पनि नदी किनारमा फाल्ने कार्य निरन्तर भएको हुँदा नदी क्षेत्रमा प्रदूषण बढ्दै गएको स्थानीयवासी चञ्चलाल बोट बताउँछन् ।

त्रियु्गा नदी क्षेत्रमा दिसापिसाब गर्न नपाइने त्रियुगा नगरपालिकाले नै निर्देशन जारी गरेको भए तापनि अहिले पनि बिहान–बेलुका धेरै बजारका स्थानीयवासी नै नदी किनारमा दिसाशौच गर्न जाने र फोहोर गर्ने गरेका कारण त्रियुगा नदी किनार क्षेत्र झनै प्रदूषित बनेको स्थानीयवासी मोहर बक्स अलीले बताए ।

त्रियुगा नदीको पानी पवित्र मानेर नुहाउने तथा नदीको पानी स्थानीय हिन्दू मठमन्दिरमा चढाउने कार्य हुँदै आएको भए तापनि नदी क्षेत्र फोहोर तथा प्रदूषित बन्दा अहिले त्रियुगाको पानी प्रयोग गर्नसमेत समस्या भएको गाईघाट–३ प्रतिभा टोलका गोविन्द पोखरेलले बताए ।

नदी क्षेत्रमा फोहोर फाल्ने कार्य नियन्त्रण गर्न र प्रदूषण रोक्न त्रियुगा नगरपालिका, स्थानीय प्रशासन र नगरका नागरिक समाजको मुख्य दायित्व भए तापनि सम्बन्धित निकायबाट समेत यसको उचित चासो नहुँदा त्रियुगा क्षेत्र खुल्ला दिसामुक्त क्षेत्र भएर पनि फोहोर र दुर्गन्धित बन्दै गएको स्थानीयवासी बताउँछन् । यसतर्फ सम्बन्धित निकायको उचित ध्यान जानुपर्ने अहिले यस क्षेत्रका सचेत नागरिकले आवाज उठाउन थालेका छन् ।


क्लिकमान्डु