फोरम र नयाँ शक्तिद्वारा निर्वाचन घोषणाको विरोध



काठमाडौँ । सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले निर्वाचनका लागि उपयुक्त वातावरण सिर्जना नगरी निर्वाचनको मिति घोषणा गरिएकामा विरोध गरेका छन् ।

फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी संविधानका त्रुटिलाई सच्याएरमात्र निर्वाचनमा जानुपर्ने माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ- ‘वर्तमान संविधान जारी भएदेखिको राजनीतिक गतिरोधलाई अन्त्य गर्न संविधान संशोधन गरी सर्वस्वीकार्य बनाउनु पर्दछ भन्ने दुई पार्टीको साझा धारणा छ ।’

व्यवस्थापिका–संसद्मा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने, सङ्घ र प्रदेशको निर्वाचन पहिला गर्नुपर्ने र प्रदेश मातहत स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको सङ्ख्या तथा सीमा निर्धारण गरी बाँकी भूगोललाई जनसङ्ख्याको आधारमा स्थानीय तह बनाइनुपर्ने माग गरिएको छ ।

स्थानीय तह प्रदेश मातहत रहनु पर्ने, राजनीतिक दलको भागबन्डा र सत्ता स्वार्थको आधारमा घोषणा गरिएको स्थानीय निर्वाचनको मिति फिर्ता लिनुपर्ने माग गरिएको छ ।

राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने र सङ्घीय संसद्को निर्वाचन पूर्ण समानुपातिक प्रणालीका आधारमा गरिनुपर्ने पनि जोड दिइएको छ ।


क्लिकमान्डु