चुनाबले उत्साहित बनेका लगानीकर्तालाई मार्केट डेप्थले होस् पुर्याउनुस् भन्छ




काठमाडौं । मंगलबार कारोबारको शुरुवातसँगै नेप्सेमा उछाल आएको थियो । कारोबारको १५ मिनेटमै नेप्से २१ अंक हाराहारीले बढेर करिब १ घण्टाको कारोबारमा भने ७ अंकको सामान्य बृद्धि मात्र भएको छ ।

सरकारले सोमबार स्थानीय निकायको चुनावको घोषणा गरेपछि नेप्से बढ्ने आशमा केही लगानीकर्ता उत्साहित भएका कारण नेप्सेमा तिब्र उछाल आएको हो । चुनावसँगै सरकारी खर्चमा बृद्धि हुने र तरलताको समस्या कम हुदै नेप्से पुन बुल रनमा दौडने लगानीकर्ताले आशा राखेका छन् ।

त्यसो भन्दैमा कुनै एक घटना बिशेषलाई मात्र आधार बनाएर लगानी गर्दा बिशेषत नयाँ लगानीकर्ता ठूलो जोखिममा पर्न सक्छन् । निवार्चनको नाममा आउने खहरेका आधारमा मात्र लगानी गर्दा नयाँ लगानीकर्तालाई त्यही खहरेले बगाउने खतरा हुन्छ ।

मंगलबारको पहिलो १ घण्टाको मार्केट डेप्थले नै यसको पुष्टि हुन्छ । पहिलो १५ मिनेटको उछाल पछि बजारमा खरिदकर्ता भन्दा बिक्री गर्नेको बाहुल्य देखिएको छ ।

११ बजेर ५४ मिनेट जाँदा सबैभन्दा बढि कारोबार हुने कम्पनी बैंक अफ काठमाण्डौं लुिम्बनीको मार्केट डेप्थमा ६६१० कित्ता किन्ने अर्डर छ भने ९६९४ कित्ता बेच्ने अर्डर छ । सो कम्पनीको खरिदको लागि आएको सेयर संख्याभन्दा बिक्रीको लागि आएको सेयर संख्या करिब ३ हजार बढी छ ।

यसैगरी नेपाल बंगलादेश बैंकको मार्केट डेप्थमा ३५४१ कित्ता सेयर किन्न खोजिएको छ भने ४६७९ कित्ता सेयर बेच्न राखिएको छ । यो कम्पनीको पनि खरिदका लागि राखिएको भन्दा बिक्रीको लागि राखिएको सेयरको संख्या करिब ११ सय बढी छ ।

पहिलो घण्टामा तेस्रो धेरै कारोबार भएको कम्पनी शिखर इन्स्योरेन्सको पनि किन्ने भन्दा बेच्ने धेरै देखिएका छन् । लगानीकर्ताहरु शिखरको १६१५ कित्ता सेयर किन्न चाहन्छन् भने बेच्नेहरुले २०७९ कित्ता सेयर बिक्रीमा राखेका छन् ।

धेरै कारोबार भएका पहिलो पाँच कम्पनीमध्ये बिक्री भन्दा खरिद अर्डर बढी भएको कम्पनी प्राइम लाइफ इन्स्योरेन्स मात्र देखिएको छ । यस कम्पनीमा १२ः०५ बजे २५१० कित्ताको खरिद अर्डर छ भने ५०० कित्ताको बिक्री अर्डर छ ।

यसै गरी धेरै कारोबार हुने पाँचौ कम्पनी नेशनल इन्स्योरेन्सको ३४४२ कित्ताको बिक्री अर्डर छ भने ६३० कित्ताको खरिद अर्डर ।

यी तमाम तथ्यांकको समग्र कथा के हो भने पुराना लतगानीकर्ता अझै बजार प्रवेश गरेका छैनन् । बरु, उनीहरु चुनावले ल्याएको उछालमा आफूसँग भएको सेयर बेच्न चाहन्छन् । शुरुमा बढेको बजारमा तुरुन्तै बिक्री चाप बढि भई बजार ओर्लन थाल्नुले यही पुष्टि गर्छ ।

त्यसैले यस्तो बेला नयाँ लगानीकर्ताले बिशेष होस पु¥याउनुपर्ने देखिन्छ । चुनाव हुनु पक्कै पनि समग्र देशको राजनीति र अर्थतन्त्रलाई सकारात्मक बाटोमा लान सक्ने महत्वपूर्ण परिघटना हो । तर, यसैलाई मात्र आधार बनाएर अहिले र आजै चाहिने भन्दा बढि उत्साहित हुँदा डुब्ने खतरा बढि हुन्छ । सेयर उचित मूल्यमा किन्ने र बेच्ने मौका त बजारले दिइनै रहन्छ ।


क्लिकमान्डु