मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा हुँदै: अटो र ओभरड्राफ्ट कर्जामा कडाई, उत्पादनशील क्षेत्रलाई अझै सहुलियत



काठमाडौं । नेपाल राष्ट्र बैंकले निजी गाडी खरिदमा दिइने र ओभरड्राफ्ट कर्जामा कडाई गर्ने भएको छ । राष्ट्र बैंकले आज (मंगलबार) दिउसो मौद्रिक नीतिको मध्यावधी समीक्षा गर्दै गाडी कर्जा र ओभरड्राफ्ट ऋणमा कडाई गर्ने नीति ल्याउन लागेको हो ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुले ओभरड्राफ्ट र गाडी कर्जामा अत्याधिक ऋण दिएको भन्दै असन्तुष्टी जनाउदै आएको थियो । पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले सवारी साधनमा १ खर्ब ४२ अर्ब रुपैयाँ ऋण दिएका छन् भने ओभरड्राफ्टमा ३ खर्ब ४१ अर्ब रुपैयाँ ऋण दिएका छन् ।

अहिले बैंक तथा वित्तीय संस्थाले गाडी खरिदमा यसको कुल मुल्यको ९० प्रतिशतसम्म ऋण दिदै आएका छन् । केन्द्रीय बैंकले गाडीको कुल मुल्यमा ऋण दिन पाउने सीमा तोक्न लागेको हो ।

‘अटो लोन र ओभरड्राफ्ट कर्जामा कडाइ गर्ने तथा उत्पादनशील क्षेत्रको कर्जा बढाउन थप सुबिधा दिनुपर्ने देखियो,’ राष्ट्रबैंक उच्चस्रोतले क्लिकमाण्डूसँग भन्यो ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षा मार्फत उत्पादनमुलक क्षेत्रतर्फ कर्जा विस्तारमा जोड दिने भएको छ । अहिले कुल कर्जामा २० प्रतिशत रकम राष्ट्र बैंकले तोकेको उत्पादनमुलक क्षेत्रमा कर्जा दिनुपर्ने अनिवार्य व्यवस्था छ ।

उत्पादनशील क्षेत्रमा कर्जा विस्तारका लागि केन्द्रीय बैंकले पुनरकर्जामा विशेष सहुलियत दिने स्रोतले बतायो ।


क्लिकमान्डु