म्याग्दीका होटलमा ८७ करोड रुपैयाँ लगानी, २१ नयाँ होटल थपिए



म्याग्दी । पर्यटकीय जिल्ला म्याग्दीको होटल तथा रेस्टुराँ व्यवसायमा रु ८७ करोड लगानी भएको छ ।  घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयका अनुसार म्याग्दीमा आव २०७२/७३ सम्म ५ सय भन्दा बढी होटल तथा रेस्टुराँ दर्ता भएका छन् । गत वर्ष दर्ता भएका २१ वटासहित ५ सय १० वटा होटल तथा रेस्टुराँ सञ्चालनमा रहेका कार्यालयका खरिदार इन्द्र पौडेलले बताए ।

दुई वर्ष पहिले १२० वटा होटल थिए । ८७ करोड रुपैयाँ लगानी भएको म्याग्दीका होटलमा एक हजार २७५ जनाले रोजगारी पाएको उनले जानकारी दिए । जिल्लाभित्र पर्यटकीयस्थल भएको र मुस्ताङको प्रवेशद्वार रहेकाले म्याग्दीमा होटल तथा रेस्टुराँ व्यवसाय खुल्ने क्रम बढेको समितिले जनाएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै पाहुनालाई स्तरीय सेवा प्रदान गर्न पुराना होटलले क्षमता र सुविधा बढाएका छन् । पछिल्लो पाँच वर्षयता बेनी, घोडेपानी, सिङ्गा तातोपानी, दरवाङ, भुरुङ तातोपानीलगायतका ठाउँमा नयाँ होटल तथा रेस्टुराँ स्थापना हुने क्रम वृद्धि भएको छ ।

नयाँ होटल खुल्ने र पुरानाले सेवा, सुविधा, पूर्वाधार बढाउन थालेपछि होटल तथा रेस्टुराँ व्यवसायमा लगानी बढेको हो । यसै वर्ष नयाँ भवन निर्माण गरेर एट्याच बाथरुम र एसीसहित छ वटा कोठा थप गरेको बेनीको होटल यतीका सञ्चालक पूर्ण गौचनले बेनीमै गत महिनादेखि अर्को नयाँ होटल सञ्चालनमा ल्याएका छ ।

रु ५० लाखको लगानीमा बेनीको पिपलचोकमा स्थापना भएको होटल हिल भ्युको क्षमता ५० जनाको छ । सो होटलमा रहेका १७ वटा कोठामा एसी, टिभी, फ्रि वाइफाइ र तातोपानीको सुविधा छ ।

तालिम हल र पार्किङको सुविधा पनि रहेको सो होटलले आफ्नै गाडीबाट पाहुनालाई यातायात सेवा दिने व्यवस्था मिलाएको छ । ‘सात जनाले रोजगारी पाएका छन्,’ गौचनले भने, ‘आरामदायी र सुविधायुक्त कोठाको साथै थकाली खानाका परिकार होटलको मुख्य विशेषता हो ।’

केही वर्ष पहिले असोज, कात्तिक, चैत र वैशाखमा आउने पाहुनाले बास नपाउने समस्या थियो । होटलले क्षमता बढाएपछि कोठा नपाएर बसपार्क र चौतारीमा रात कटाउनुपर्ने समस्या कम हुँदै गएको होटल तथा रेस्टुराँ व्यवसायी सङ्घका अध्यक्ष गोपाल पौडेलले बताए । पोखरा, काठमाडौँ, चितवनलगायत ठूला सहरमा रहेका होटल सरहको सेवा प्रवाह भइरहेको अध्यक्ष पौडेलको भनाइ छ ।


क्लिकमान्डु