चिनियाँ जहाजले फर्काउला त निगमको गुमेको शाख ?



काठमाडौं । केही समय अगाडीसम्म नेपाल वायुसेवा निगम आन्तरिक उडानमा एक थानक्यानडियन ट्वीनटर जहाज मार्फत मुलुका केही दुर्गम क्षेत्रमा उडान गरिरहेको थियो ।

विगतमा १३ वटा जहाज मार्फत आन्तरिक उडान भर्दै आएको निगम २०४६ यता थला पर्दै गयो । जसको कारण बुद्ध एयर तथा यति एयरलाइन्स जस्ता ठुला एयरलाइन्स कम्पनीहरु जन्मन पुग्यो । आन्तरिक गन्तव्यमा डेढ दशक यता निजी एयरलाइन्सको दवदवानै छ ।

जहाज खरिद प्रक्रियामा २७ वर्ष पछि “ब्रेक थ्रु” पश्चात दुई थान चिनियाँ जहाज अनुदानमा आयो । निगममा निकै हर्षले छायो । तर जहाज आएपछि परिस्थिति अर्कै बन्यो । पाईलट पाए स्पेयर्स पार्टस् नपाउने, त कहिले इन्जिनियर नपाउने, त्यसपछि ६ महिना सम्म चिनियाँ जहाज ग्राउन्डेड भयो । सर्वत्र आलोचना भयो ।

चीन सरकारले अुनदानमा दिएका एमए–६० र वाई १२ ई जहाजले आन्तरिक उडान बढाउने आशामा रहेको निगम व्यवस्थापनले चिनियाँ जहाज उडान नसक्ने र बाँकी ल्याउने भनिएको ४ थान जहाज नल्याउने घोषणा गर्न पुग्यो । जुनको तरंग तत्कालिन प्रधानमन्त्री शुसिल कोइराला सम्म पर्यो । चिनियाँहरुले विशुद्ध व्यापारिक विषयलाई देशको कुटनैतिक सम्बन्ध सँग जोडेपछि अन्ततः नेपाल सरकार घुडाँ टेक्न पुग्यो ।

चिनियाँ जहाज ६ वटा किन्न ६ अर्व ६७ करोड १० लाख रुपैयाँ अनुदान तथा सहुलियत ऋणमा निगमलाई एक्जिम बैंक मार्फत ऋण उपलव्ध गराईएको हो । उक्त रकम मध्ये २ अर्व ९४ करोड १० लाख रुपैयाँ एमए–६० र एउटा वाई–१२ इ अनुदानमा लिन उपयोग गरिने सम्झौता भएको थियो ।

लामो रस्सा कस्सीपछि पुनः जहाज ल्याउने निर्णय गदैै केही साता अगाडी दुई थान जहाज पनि नेपाल आइसकेको छ । सोही जहाज हस्तान्तरण कार्यक्रममा घुमाउरो भाषामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जिवन बहादुर शाहीले भने ‘अव भाषा जानेको पाइलट पाउने छौ, स्पेर्यस पार्ट्स भनेको बेला पाउने छौ पाइलट र इन्जिनियर दिन जहाज निर्माता कम्पनीले कन्जुस गर्ने छैन ।’ मन्त्री शाहीले त्यसो भन्दै गर्दा चिनियाँ जहाज निर्माता कम्पनी एभिक इन्टरनेशनल होल्डिङ कम्पनीका जिम्मेवार पदाधिकारी भने गम्भिर थिए । मन्त्री शाही त्यतिमै रोकिएका थिएनन । अव नेपाल बाट शुरु भएको चिनियाँ जहाज यात्रा एशिया भरि फैलाउने या नेपाल बाट विदा गर्ने हो, चिनियाँको हातमा रहेको समेत मन्त्री शाहीले बताएका थिए ।

चीन सरकारको अनुदानका जहाज एमए–६० २०७१ वैशाख १४ मा काठमाडौं ल्याइएको थियो भने १८ सिटयुक्त वाई१२–ई कात्तिक १७ मा आएको थियो । एमए–६० ले असार ११ तथा वाई१२–ई ले पुस ३ बाट नियमित उडान सुरु गरेका थिए ।

चिनियाँ जहाज ६ वटा किन्न ६ अर्व ६७ करोड १० लाख रुपैयाँ अनुदान तथा सहुलियत ऋणमा निगमलाई एक्जिम बैंक मार्फत ऋण उपलव्ध गराईएको हो । उक्त रकम मध्ये २ अर्व ९४ करोड १० लाख रुपैयाँ एमए–६० र एउटा वाई–१२ इ अनुदानमा लिन उपयोग गरिने सम्झौता भएको थियो । भने वाँकी ३ अर्व ७२ करोड ८० लाख रुपैयाँमा एउटा एमए ६० र तीनवटा वाई १२ इ जहाज ऋणमा खरिद गर्ने गरी ५ वर्ष अगाडी नेपाल सरकार र चीन सरकारबीच सम्झौता भएको थियो ।

निगमले ९ जहाज मार्फत ३६ गन्तव्यमा उडान भर्दै

भवितव्य नआएमा र चिनियाँ जहाज व्यवस्थापन गर्न सके निगमसँग अव आन्तरिक उडानको लागि ६ थान चिनियाँ जहाज र ३ थान ट्वीनटर जहाज हुने छन् । हाल दुई थान ट्वीनटर र ४ थान चिनियाँ जहाज निगमले पाइसकेको छ । बाँकी दुई थान चिनियाँ जहाज फागुन भित्रमा नेपाल आउने छन । भने एक थान ट्वीनटर जहाज मर्मत भइरहेको छ ।

चिनियाँ पक्षले हाम्रा माग सम्बोधन गरेकोले जहाज ल्याएको बताउँदै निगमका प्रवन्ध निर्देशक सुगतरत्क कंसाकारले अव ९ जहाज मार्फत ३६ गन्तव्यमा उडान भर्ने घोषणा गरेका छन । आन्तरिकमा नाफा नकमाएको निगमले नाफा पनि कमाउने गरी उडान थाल्ने समेत कंसाकार बताउँछन ।

निगमले लामो समय देखि सुगमका गन्तव्यहरुमा जहाज अभावका कारण भर्न सकेको थिएन । एमए–६० भएपछि भने निगम अव सुगम गन्तव्यमा समेत उडान गरिरहेको छ । ‘दुई एमए–६० ले सुगम र वाई१२ ई तथा ट्वीनटरले दुर्गमका यात्रुलाई सेवा दिने छौ,’ कंसाकारले भने ।

नेपालमा ५८ वटा विमानस्थल छन । ३१ वटा विमानस्थल संचालनमा रहेका छन । निजी क्षेत्रका एयरलाइन्स कम्पनीहरु घाटा हुने ठाउमा उडान नभर्ने भएकोले पनि दुर्गमका क्षेत्रका यात्रुलाई सेवा दिनु राज्यको कर्तव्य भएको समेत कंसाकार बताउँछन ।


पुष्प दुलाल