राप्रपाको महाधिवेशन भृकुटीमण्डपमा सुरु



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन प्रदर्शनी मार्गस्थित सडकमा सुरु भएको छ ।

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता भएपछि आयोजना भएको एकता महाधिवेशनको नारा ‘राष्ट्रियता, प्रजातन्त्र, हिन्दुत्व र आर्थिक उदारवादको जगमा समृद्ध नेपाल निर्माण गरौँ’ भन्ने रहेको छ ।

चारवर्षे कार्यकालमा गरिएको महाधिवेशनको उद्घाटन केन्द्रीय अध्यक्ष कमल थापाले दीप प्रज्ज्वलन गरी गर्नुभएको हो । यही फागुन ९ गतेसम्म महाधिवेशन भृकुटीमण्डपमा जारी रहने छ ।

सो सभामा सहभागीलाई पार्टीका उपाध्यक्ष टङ्क ढकालले स्वागत गर्दै जनताले चाहना गरेको शान्त र समृद्ध मुलुक निर्माणको उद्देश्यका लागि दुई पार्टी एक भई महाधिवेशन गर्न लागिएको जानकारी दिए । उनले मुलुक अहिले सङ्कटको अवस्थामा रहेकाले बलियो राष्ट्रवादी शक्तिको खाँचो रहेको औँल्याए ।

यसअघि राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, वरिष्ठ नेता पशुपतिशम्शेर राणालगायतले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेका थिए।

पञ्चायती पृष्ठभूमि भएका नेपाली राजनीतिमा खारिएका नेताहरुको बाहुल्यता रहेको राप्रपा व्यवस्थापिका–संसद्मा चौथो ठूलो शक्तिका रुपमा रहेको छ ।  महाविधेशनले आगामी चार वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

उक्त पार्टीको शीर्ष नेतृत्वमा पूर्वअध्यक्षहरु लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापा  छन् । महाधिवेशनमा भाग लिन स्वेदश तथा विदेशबाट गरी तीन हजार ३१५ प्रतिनिधिको सहभागिता रहेको छ ।

महाधिवेशनलाई सफल तुल्याउन ३०० पर्यवेक्षक परिचालन गरिएको छ । महाधिवेशनलाई भव्य र सव्य बनाउन महाधिवेशनस्थल वरपर  पार्टीका झन्डा र ब्यानरबाट झकिझकाउ तुल्याइएको छ भने सुरक्षा व्यवस्थालाई कडा तुल्याइएको छ ।

नेपाली राजनीतिमा चतुर खेलाडीको उपनाम पाएका नेताहरु सम्मिलित राप्रपाले प्रजातन्त्र पुनःस्थापनापछि पनि सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको थियो ।

महाधिवेशनको उद्घाटनसत्रमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलका नेताहरुले समेत सम्बोधन गरेका थिए  ।

राप्रपाको यो महाधिवेशनलाई अरु राजनीतिक पार्टीले विशेष महत्व र चासोका साथ हेरेका छन् । रासस


क्लिकमान्डु