धादिङमा नेताको डरले पुलको गुपचुप शिलान्यास




धादिङ । वरिपरी मान्छेको भिड छ । छेवैमा हिँउदको कोल्पुखोला सुस्तगतीले बगिरहेछ । दिनहुँ सयौँको संख्यामा ओहरदोहर गर्ने मान्छेहरु आज त्यही खोलाको तिरमा बसेर यताउता गरिरहेका छन् । खोला छेउछाउका मानिसहरुमा छुट्टै उत्साह अनि उमंग छ ।

करिव ५०/६० संख्यामा मानिसहरुको उपस्थितिले हल्लाखल्ला भने ठूलै छ । वरीपरी ध्वजापतका टांगिएको छ । बिहानैदेखिको चहलपहलले मध्यान्हमा मात्र थाहा भयो कि नुवाकोट र धादिङलाई जोड्ने पक्की पुलको शिलान्यास हुँदैछ ।

गाँउका केही अगुवाहरु पाँच करोड ९२ लाख रुपैयाँमा सम्पन्न हुने कोल्पुखोला पक्की पुलको शिलान्यास हुँदैछ भन्दै थिए । त्यो कुरा कमैलाई मात्र थाहा थियो । नेपाल सरकार अन्तर्गत डिभिजन सडक कार्यालय नुवाकोटको टेण्डर आह्वानमा बन्न लागेको दुई लेन पुल वास्तवमै नुवाकोट र धादिङका जनताहरुमा खुसीको मुहार फेर्ने एउटा सेतुको रुपमा रहने भएकोले यो महत्वपूर्ण नै थियो ।

वृद्धबाट पुलको शिलान्यास
पुल शिलान्यास गर्ने भनेर सबै खोलाको किनारमा खनिएको जग छेउ पुगे । केहीलाई लाग्दै थियो यत्रो करोडौँको पुलको शिलान्यास हुँदैछ । तर कोही नेता वा विशिष्ट व्यक्ति देखिदैन । एकजना ब्राम्हण मन्त्र पढ्दै खोला किनारमा खनिएको जगमा केही सिमेन्ट, बालुवा र रोडा मिसाएर बनाइएको मसला लिएर बसेका अर्का गाँउका अगुवा एकजना वृद्ध खेमनाथ सुवेदी छेउमा पुगे । फूल अक्षता सबै तयार थियो पुजा सामाग्रीको रुपमा । शिलान्यासको लागि सुवेदी तयार थिए । अन्तत जगमा इँटा, मसला राखेर पुल निर्माणको काम शुरु गरियो । सबैले ताली बजाए । शिलान्यास कार्यक्रम सकियो ।

पुलको पारीपट्टी कांग्रेसका प्रभावशाली नेता छन । यता एमालेका प्रभावशाली नेता छन् । दुवैलाई बोलाउदा कसले जस लिने भनेर हानथाप पर्ला । नेताको यस्तो हानथापले समयमै पुल नबन्ला कि भन्ने चिन्ता स्थानीयलाई छ ।

दुई ठूला भिआइपीलाई थाहै छैन
कुनैपनि सानो कार्य गर्नुपर्दा ठूलो नेता आउने, धुमधाम गर्ने प्रचलन तोडेर तोडियो । करिब ६ करोड रुपैयाँको लागतमा बन्न लागेको पुलको शिलान्यास गर्न पाएकोमा आफूलाई धेरै खुशी लागेको सुबेदीले सुनाए ।

‘यत्रो कामको शुरुवात मेरो हातबाट भयो । वृद्धवस्थामा यो जस्तो ठुलो अहोभाग्य मेरो लागि के होला ?’ उनी भन्दै थिए ।

कुरा यतिमा सकिँदैन । त्यो स्थान धादिङ क्षेत्र नम्बर ३ र नुवाकोट क्षेत्र नम्बर १ जोड्ने राजनीतिक मिलनविन्दु पनि हो । आफ्नै क्षेत्रमा करोडौको प्रोजेक्टको शिलान्यास भएको कुरा न अहिलेका बहालवाला मन्त्री तथा त्यसै क्षेत्रका प्रतिनिधि अर्जुननरसिंह केसीलाई थाहा थियो न त पूर्वस्थानीय विकासमन्त्री तथा धादिङ क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र प्रसाद पाण्डेलाई नै । पुल निर्माण प्रक्रियागत ढंगले अघि बढिरहेको दुवै नेतालाई थाहा भएपनि त्यसदिन केसी र पाण्डे दुवैलाई जानकारी नै दिइएको थिएन ।

कोल्पुखोला राजनीति गर्ने ठाँउ हो र ?
आखिर किन जनताले आफ्ना प्रतिनिधि वा ठूला नेतालाई बोलाएनन् त ? यो प्रश्न गर्दा एकजना स्थानीय हरी सुवेदी भन्छन्ः ‘कोल्पुखोला राजनीति गर्ने ठाँउ हो र ? राजनीति त सहरमा पो गरिन्छ । न त यहाँ कार्यकर्ता भर्ति नै गर्न पाइन्छ । जनतालाई पुल चाहिएको हो, नेता चाइएको हैन ।’

पुलको पारीपट्टी कांग्रेसका प्रभावशाली नेता छन । यता एमालेका प्रभावशाली नेता छन् । दुवैलाई बोलाउदा कसले जस लिने भनेर हानथाप पर्ला । नेताको यस्तो हानथापले समयमै पुल नबन्ला कि भन्ने चिन्ता स्थानीयलाई छ ।

स्वतन्त्र व्यक्तिले शिलान्यास गरे बढी राजनीति हुदैन, काम पनि छिटो सकिन्छ भनेर पनि यसो गरिएको स्थानीयको दाबी छ ।

पुल निर्माणको इतिहास
ठुलाबाट नै उद्घाटन ,शिलान्यास गराउनुपर्छ भन्ने मानसिकतालाई नुवाकोटका कुमरीवासी र र धादिङका जिवनपुरवासीले तोडका छन । २०४५ सालमा नुवाकोट र धादिङका जनतालाई ओहोरदोहोर गर्न सजिलो होस भनेर सामान्य ढंगको कोठे पुल निर्माण भएको खोलामा २०६१ सालमा फलामे पुल निर्माण गरिएको थियो ।

२०७३ सालसम्म आइपुग्दा कोल्पुखोलामा पक्की पुलको निर्माण गर्न शिलान्यास भइसकेको छ । यो पुल बनेपछि नुवाकोटको कुमरी, चाउथे, डाँडागाँउ, दुईपिपल लगायतका बासिन्दाले धादिङको सहरउन्मुख बजार धार्केमा आफुले उत्पादन गरेको तरकारी फलफुल लगायतका सामान ल्याउन र लैजान सक्ने अबस्था हुने छ ।


क्लिकमान्डु