अर्थले भन्सार मागेपछि निजी बैंकले डलर ल्याउने योजना अल्मलियो




काठमाडौं । बाणिज्य बैंकहरुले बिदेशबाट नगद अमेरिकी डलर ल्याउन गरेको तयारी अलमलमा परेको छ । अर्थमन्त्रालयले बैंकहरुले ल्याउने डलरको ३० प्रतिशत भन्सार शुल्क तिर्नुपर्छ भनेपछि तयारी नै अलमलमा परेको हो ।

बजारमा नगद अमेरिकी डलरको अभाब कम गर्न भन्दै नेपाल राष्ट्र बैंकले निजी क्षेत्रका बैंकहरुलाई पनि बिदेशबाट नगद डलर ल्याउन दिने नीतिगत ब्यवस्था गरेको थियो ।

अर्थमन्त्रालयले बिदेशबाट नगद डलर ल्याउदा भन्सार शुल्क तिर्नुपर्ने भनेपछि कार्यान्वयनमा समस्या भएको हो । निजी क्षेत्रका हिमालयन बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले बिदेशबाट नगद डलर ल्याउने तयारी गरेका थिए ।

बिदेशबाट नगद डलर ल्याउदा भन्सार शुल्क तिर्नुपर्ने भएपछि समस्या उत्पन्न भएको एक बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

‘राष्ट्र बैंकले नीतिगत ब्यवस्था गरेपछि हामीले बिदेशबाट नगद डलर ल्याउने तयारी गरेका थियौं, तर अर्थमन्त्रालयले भन्सार लाग्छ भनेपछि गाह्रो भयो,’ ती प्रमुख कार्यकारी अधिकृतले क्लिकमाण्डूसँग भने ।

राष्ट्र बैंकले कुनै पनि बाणिज्य बैंकलाई बिदेशबाट नगद डलर ल्याउन दिने ब्यवस्था गरेको छ । यसरी नगद ल्याउदा बैंकहरुले प्रतिडलर ३० पैसा बढी रकम लिन पाउने ब्यवस्था छ । राष्ट्र बैंकले क्यास ह्याण्डलिङ वापत यस्तो बढी रकम लिन पाउने छुट प्रदान गरेको हो ।

अर्थमन्त्रालयले भने ३० प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने भनेको छ । यस्तो रकम पनि डलरको रकम मूल्यांकन गरेर लिने तयारी अर्थमन्त्रालयको छ । अर्थात बैंकहरुले १०० अमेरिकी नगद डलर बिदेशबाट नेपाल ल्याएमा ३० डलर भन्सार शुल्क नै तिर्नुपर्नेछ ।

बैंकले ल्याउन लागेको डलर बस्तु र सेवा दुबै नभएकोले भन्सार छुटको ब्यवस्था गरिदिन आग्रह गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्म ढुंगानाले जानकारी दिए ।

‘बजारमा नगद डलरको अझै अभाब छ, बैंकहरुले ल्याउन लागेको डलर बस्तु र सेवा दुबै होइन, यसैकारण भन्सार छुटको ब्यवस्था मिलाइ दिन अर्थमन्त्रालयलाई पत्राचार गरेका छौं,’ ढुंगानाले क्लिकमाण्डूसँग भने ।

राष्ट्र बैंकले अघिल्लो साता नै अर्थमन्त्रालयलाई पत्राचार गरेको भएपनि यससम्बन्धि निर्णय अझै भएको छैन । भन्सार विभागले पनि मन्त्रालयलाई पत्राचार गरेर भन्सार छुटको निर्णय गरिदिन आग्रह गरेको छ ।


क्लिकमान्डु