वाईडबडी जहाज किन्न मध्यरातमा ११ करोड बैना पठाइयो



काठमाडौं । नेपाल वायुसेवा निगमको किन्न लागेको एयरबस ३३०-२०० सिरिजको २ वटा वाईडबडी जहाजको बैना रकम बुधवार मध्यरातमा पठाएको छ ।
राष्ट्र बैंकले बुधबार अनुमति दिएसँगै निगमले हिमालयन बैंकबाट पोर्चुगलको ‘हाईफ्लाई एयरलाइन्स’लाई उक्त रकम पठाएको हो ।

निगमले बुधवारको सटही दर अनुसार १० लाख अमेरिकन डलर (१० करोड ७० लाख रुपैयाँ) बैना रकम पठाएको निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले क्लिकमाण्डूलाई जानकारी दिए ।

अमेरिकी लिजिङ कम्पनी एएआर कर्पोरेसनले ‘हाईफ्लाई एयरलाइन्स’ का लागि २ वर्षअघि एयरबस कम्पनीमा अर्डर गरेको थियो ।

उक्त एयरलाइन्सले जहाज नलिएने भएपछि उक्त प्रक्रिया रोकिएको थियो । सोही अर्डको जहाज निगमले पाउने भएको हो ।

‘राष्ट्रबैंकबाट डलर सटही सुविधा लिएर बैना रकम पठाएका छौ,’ निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले क्लिकमाण्डूसँग भने ।

महाप्रबन्धक कंसारका अनुसार बैना रकम पठाएपछि खरिद सम्झौता अघि बढेको र फागुन तेस्रो साताभित्र कम्पनीसंग खरिद सम्झौता हुने छ ।

कम्पनीलाई ३ साता अगाडिनै रकम पठाउनको लागि निर्णय गर्दै स्विकृतको लागि निगम संचालक समितिले मन्त्रालय पठाएको थियो । मन्त्रालयले स्विकृत गरेपछि मात्र निगम व्यवस्थापनलाई राष्ट्र बैंकले डलर सटहीको सुविधा दिने व्यवस्था रहेको छ । मन्त्रालयले स्विकृत गर्न अनाकानी गरेपछि प्रक्रियामा ढिला भएको थियो ।

अमेरिकी कम्पनीसँग भएको सैद्धान्तिक समझदारी अनुसार एयरबस ३३०-२०० सिरिजको दुई थान वाईडबडी जहाज खरिद लागि १० लाख अमेरिकन डलर रकम पठाउने सहमति भएको थियो । निगमले डेढ महिना अगाडी कर्पोरेसनसँग जहाज खरिद गर्ने निर्णय गरेको थियो ।

निगमले जहाजका लागि आह्वान गरेको ग्लोवल टेन्डरमा अमेरिकी कम्पनीले ब्रान्ड न्यू जहाजनै दिने गरी प्रस्ताव गरेको थियो । जुन टेन्डरमा सहभागी ११ कम्पनी मध्ये सवैभन्दा सस्तो समेत दिने प्रस्ताव गरेको थियो । सोहीलाई आधार मानेर निगमले गठन गरेको प्राविधिक सिफारिस समितिले निगम संचालक समितिलाई कर्पोरेसनको नाम एक महिना अगाडीनै सिफारिस गरेको थियो ।

निगम व्यवस्थापनले प्राविधिक विभागका प्रमुख आरबी शाहको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।

निगमलाई २० करोड ८० लाख १६ हजार डलर अर्थात २२ अर्व ६३ करोड रुपैयाँमा दुईवटा जहाज दिने प्रस्ताव कर्पोरेशनले पेश गरेको थियो ।

कम्पनीले समझदारी पत्रमा १६ महिना भित्रमा दुई जहाज उपलव्ध गराउन सहमत भएको छ । निगमको समय तालिका अनुसार पहिलो जहाज २०७४ असोज भित्रै काठमाडौं आउने भनिएपनि प्रक्रियामा केही ढिला हुदाँ केही महिना पर सर्ने भएको छ । भने दोस्रो २०७४ को चैत भित्रै जहाज काठमाडौं आउने छ ।

निगमले खरिद गर्ने जहाजमा ४० देखि ६० इन्च फराकिलो १२ देखि १८ सिट विजनेश क्लास, ३० देखि ३६ इन्च फराकिलो इकोनोमी क्लास गरी २८० सिट हुनेछन ।
निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया लन्डन जस्ता गन्तव्यमा उडान गर्ने योजना बनाइरहेको छ । जसमा निगमले उडान गन्तव्यहरु तय गर्नको लागि कार्यसमेत सुरु गरिसकेको छ ।


पुष्प दुलाल