नेपाल टेलिकमको टावर मर्मत नहुँदा एक महिनादेखि मोबाइल सेवा अवरुद्ध




बैतडी । जिल्लाको कुवाकोटमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आएपछि पुरचौडी क्षेत्रका करिब एक दर्जन गाविसका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन् ।

कुवाकोट– ३ मा रहेको नेपाल टेलकमको टावरमा खराबी आएपछि पुरचौडी क्षेत्रका अधिकांश गाविसमा जिएसएम नमस्ते सेवा अवरुद्ध भएको हाट स्वास्थ्य चौकीका प्रमुख विनोद कुँवरले जानकारी दिए ।

विगत एक महिनादेखि घाम लागेको समयमा लाइन आउने साँझ बिहान मोबाइल सेवा अवरुद्ध हने गर्दछ । ‘बादल लागेको दिन त फोनै लाग्दैन,’ उनले भने । हाट एक महिनादेखि मोबाइलमा लाइन आउने जाने क्रम चलेपछि हैरान बनाएको समेत कुवाकोटका रामप्रसाद पन्त बताउँछन् ।

टेलिकमलाई टावर मर्मतको लागि आग्रह गर्दा समेत कुनै सुनुवाइ नभएको कुवाकोट–२ सल्लेली गाँउका मानबहादुर साउद बताउँछन् । ‘टावरमा खराबी आएपछि कुवाकोट, हाट, मल्लादेही, न्वादेउ, भटना, महादेवस्थान, भूमिराजलगायतका एक दर्जन गाविसका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन् ।’


क्लिकमान्डु