भारतकाे नोटबन्दीले नेपाली रुपैयाँ भारत पस्योः बैंकर




काठमाडौं । भारत सरकारले ५ सय र हजार दरको नोटमा लगाएको प्रतिबन्धको कारण नेपाली रुपैयाँ भारतीय बजारमा गएको बैंकरले दाबी गरेका छन् ।

नेपाल बैकर्स संघका अध्यक्ष अनिल केशरी शाहले ठूला आकारमा भारतीय नोटमा लागेको प्रतिबन्धको कारण भारतीय बजारमा नेपाली रुपैयाँ थन्केर बसेको बताए ।

‘अहिले भारतीय व्यापारीले नेपाली रुपैयाँ लिएर भएपनि सामान नेपाल बेचेको अवस्था छ, सीमा नाकामा मात्र हुने नेपाली रुपैयाँको कारोवार दक्षिणसम्म सरेको छ,’ उनले भने ।

नेपालको बैकिङ प्रणालीमा लगानी योग्य पुँजी अभाव हुनुको कारण भारतले लगाएको प्रतिबन्धको असर पनि एउटा भएको भनाई शाहको छ । उनले नेपाली रुपैयाँ पुगेको स्थानमा नोट साटिएर आएपछि बैकिङ प्रणालीमा सो रकम फर्कने बताए ।

बैकर्स संघका अध्यक्ष शाहले चुनाव आएको कारण पनि रुपैयाँ लुकाएर राख्ने काम भएको बताए । चेम्बर अफ कमर्शले गरेको कार्यक्रममा शाहले चुनाव घोषणा भएर चुनावको वातावरण बनेपछि बैकिङ प्रणालीमा सो रकम आउने दाबी गरे ।


क्लिकमान्डु