प्रेस युनियनद्वारा महासंघको कार्यालयमा तालाबन्दी



काठमाडौं ।  नेपाल पत्रकार महासंघले नयाँ सदस्यता वितरणमा एकलौटी गरेको भन्दै नेपाल प्रेस युनियनले महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।

युनियनका अध्यक्ष बद्री सिग्देलको नेतृत्वमा पदाधिकारी तथा सदस्यसहितको टोलीले आज महासङ्घको केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको हो ।

युनियनले भोलि फागुन ३ गतेदेखि महासङ्घका जिल्ला अधिवेशन हुने वातावरण तयार नभएकाले सबै पत्रकारलाई अधिवेशनका नाममा हुने नाटक मञ्चनलाई अहसयोग गर्न पनि आह्वान गरेको छ ।

ताला लगाउने क्रममा अध्यक्ष सिग्देलले अझै पनि महासङ्घको नेतृत्वले वार्तामा आएर सदस्यता विवाद विषयको हल खोज्नेछ भन्ने विश्वास व्यक्त गर्दै अन्यथा महासङ्घको परिस्थिति अझ जटिल मोडमा जाने चेतावनी दिए ।  ।

महासंघ कुनै अमुक दल विशेषको भातृ संस्थाका रुपमा लैजाने खतराबाट  साझा चरित्रलाई बचाउन बाध्य भएर तालाबन्दी गर्नुपरेको उनको भनाई छ ।

कार्यक्रममा युनियनका महासचिव अजयबाबु शिवाकोटीले महासंघले विधि, प्रक्रिया र अभ्यासलाई लत्याएर दल विशेषका कार्यकर्तालाई सदस्यता दिने र नवीकरण गर्ने गरेको कामप्रति युनियनले अवगत गराउँदा गराउँदै पनि त्यसलाई बेवास्ता गरेकाका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको  बताए ।
युनियनले देशभरका ४० भन्दाबढी शाखामा महासङ्घको सदस्यतामा भएको अनियमितता, विभिन्न क्षेत्रीय संयोजक र केन्द्रीय समितिका जिम्मेवारले केन्द्रबाटै हुकुमी शैलीमा थपेका सदस्यता र नवीकरण गरिएको कार्य सह्य नभएको जनाएको छ ।


क्लिकमान्डु