ऊर्जामन्त्री शर्मा पश्चिम सेती प्रभावित क्षेत्रमा
डोटी। ऊर्जामन्त्री जनार्दन शर्माले आज पश्चिम सेती जलविद्युत् परियोजना प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।
मन्त्री शर्मालाई पश्चिम सेतीबाट प्रभावित हुने डोटी, बैतडी, बझाङ र डडेल्धुराका बासिन्दाले स्वागत गरेका थिए ।
बैतडीको ढुङ्गाढमा आयोजित स्वागत कार्यक्रममा मन्त्री शर्माले पश्चिम सेती आयोजना बन्नेमा ढुक्क हुन प्रभावित क्षेत्रका बासिन्दालाई आग्रह गरे ।
‘आयोजनाका विषयमा सरकार गम्भीर छ, तपाईहरु ढुक्क हुनुस्, पश्चिम सेती बन्छ , आयोजना निर्माणका क्रममा आउनसक्ने सम्पूर्ण अवरोध सरकारले हटाएको तथा सेयरको विषयमा टुङ्गो लागिसकेको छ,’ उनले भने । विस्थापितलाई उचित मुआब्जा उपलब्ध गराएर सुविधा सम्पन्न सहरमा पुनःस्थापना गरिने उनको भनाइ थियो ।
उक्त अवसरमा प्रभावित क्षेत्रका बासिन्दाले पश्चिम सेती परियोजना निर्माण कार्य अगाडि बढाउन आग्रह गरेका थिए । उनीहरुले आफूहरु सो परियोजना बन्नेमा आशावादी रहेको बताएका थिए । रासस