ग्रामीण बैङ्क बने सामुदायिक वन



म्याग्दी । म्याग्दीका दुर्गम गाउँ बस्तीमा सामुदायिक वन उपभोक्ता समितिले ग्रामीण वित्तीय संस्थाको रूपमा लोकप्रियता कमाउन थालेका छन् ।

वन कार्यालयका अनुसार जिल्लामा गठन भएका दुई सय ५७ वटा सामुदायिक वन उपभोक्ता समूहले  एक करोड, ८० लाख २० हजार ५६० को कोष खडा गरी विभिन्न क्षेत्रमा ऋण लगानी गरेको हो ।

सामुदायिक वन समूहले यसवर्ष आफ्नो आम्दानीको ६० प्रतिशत भन्दा बढी  एक करोड, तीन लाख ५९ हजार ९०० न्यून ब्याजदरमा आफ्ना सदस्यलाई ऋण प्रवाह गरेको छ ।

गरिब लक्षित सो कार्यक्रमअनुसार बाख्रापालन, टिमुरखेती, हलोजुवा कार्यक्रम, तरकारीको बीउ उत्पादन, भैसीपालन डेरी उद्योगलगायतका क्षेत्रमा ऋण लगानी गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।

जिल्लाभरका सामुदायिक वन उपभोक्ता समितिले समाजमा आवश्यक सबै क्षेत्रमा आर्थिक सहयोग गर्ने गरेको बताइएको छ ।

वन उपभोक्ता समूहले आर्थिकस्तर हेरेर वार्षिक ६ देखि १८ प्रतिशतसम्म ब्याज लिने गरेका छन् । यसरी प्रवाह गरिएको ऋण लगानी ८० प्रतिशत सुरक्षित रहेको बगरफाँट सामुदायिक वन उपभोक्ता समितिले जनाएको छ । रासस


क्लिकमान्डु