रमाईला व्यापारी राजेशकाजी भन्छन्- बच्चैदेखि केटीसँग गफ गर्न लजाउँथे



उमेर निकै भयो तै पनि निकै ह्यान्डसम देखिनुहुन्छ, कसरी ?

मैले तपाईहरु जस्तो युवा साथीहरुको संगत गर्नुपर्छ, त्यसैले राम्रो त देखिनै पर्यो । सबै युवासँग संगत गरेपछि आफुपनि युवा भइन्छ भनेर संगत गरेको हुँ ।

अरु व्यापारीहरु त अलि गंभीर देखिन्छन् तर तपाई सँधै हाँसीमजाक गर्नुहुन्छ नि ?

म व्यापारी भए पनि मलाई व्यापारको विषयलाई लिएर कहिल्यै तनाब लिन्न । मलाई मेरो बुबा आमाले धेरै ऋण भएपनि धेरै तनाब नलिने र आफुलाई पुग्ने मात्रै काम गर्न सिकाउनु भयो । त्यसैले म कामको विषयलाई लिएर तनाब लिन्न । जे छ त्यसैमा आनन्द लिन्छु । कहिलेकाहीँ त लाग्छ यो संघसंस्थामा लाग्नुभन्दा कमाउनतिर लाग्नुपर्ने रहेछ । तर, बैंकको पेलाई र अरु समस्याहरु देख्दा यसैमा आनन्द छ । तपाईहरुले हाँसेको देख्नु भएको छ । यस्तै देख्न पाए मलाई पुग्छ ।

तपाईँ सँधै हासिँरहेको मात्रै देख्न पाइन्छ, यसको मतलब तपाई कहिल्यै रिसाउनु हुँदैन हो ?

एक पटक म यति रिसाएछु कि मेरो रिस देखेर मेरी आमा मेरो जन्म कुण्डली देखाउन जानु भएछ । ज्योतिसिले उहाँलाई मंगलबार गणेश भगवानलाई लड्डु चढाउनु पर्ने भन्नु भएछ । त्यसपछि आमाले ज्योतिसिले भनेझैं गनु भो । सायद गणेश भगवानको कृपाले हुनुपर्छ मेरो चेहरा सँधै हँसिलो हुनुको रहस्य ।

तपाई रमाइलो गर्न त माहिर हुनुहुन्छ होला है ?

म रमाइलो गर्न रुचाउने व्यक्ति त होइन । तर मिल्ने साथी भेटिएमा जे पनि गरिन्छ । बिहान क्बल जाँदा त्यहाँ फ्रि भइन्छ । त्यहाँ हाँसिमजाक ग¥यो । टिभी हेरेको हुन्छ अलिअलि गीत गायो । बिहान हेर्दा यो चेम्बरको अध्यक्ष कस्तो जोकरजस्तो छ भन्छन् होला । अफिस गएपछि त्यसै तनाव अनि चेम्बरमा आयो अर्को तनाव ।

धेरै संघ-संस्थामा भएको व्यक्ति समय कसरी मिलाउनुहुन्छ ?

समय व्यवस्थापन गरेको हुँदा मेरो अनुहार हसिलो भएको हो । मेरो व्यवसाय फोनबाट र काम गर्ने कर्मचारी पुराना भइसके गरिराखेका छन् । पहिले पनि होटल हुँदा खेरी पूर्णकालिन बस्नुपर्ने थिएन । अहिले पनि मेरा साझेदार छन् कसैले हेर्छन् ।

भनेपछि तपाई व्यवसायीको नेता मात्र हो ?

नेता त भन्न मिल्दैन । साथीहरु जम्मा गर्ने र साथीहरुका बीचमा रमाइलो गर्न मन पराउने व्यक्ति हो । म स्कुलमा पढ्दापनि सबैले ठूलो भएर के बन्ने भनेर सोध्ने गर्थे । त्यो बेला के भन्ने आफुलाई डाक्टर भन्न नि नआउने व्यापारी भन्न पनि नआउने र इन्जिनियर भन्नपनि नआउने । म त्यो बेला साथीभाई धेरै बनाउने भनेर भनेको थिए । मैले स्कूल पढ्दा भनेको कुरा पुरा भएको छ । मेरो साथीभाई धेरै छन् ।

अरुभन्दा बढी घुलमिल हुने भएर तपाईको सबै प्रकारका व्यक्तिहरु साथी भएको हो ?

म चेम्बर आउँदा सबैभन्दा युवा म थिए । सबै बाबु र बाजे उमेरका थिए । अहिले युवाहरु बढी छन् । उनीहरुसँग पनि मिलेर बस्ने कोसिस गरेको छु । अब आफु भलो त जगत भलो भनेजस्तो आफुले कसैले बिगार नगर्ने भएपछि कुरा नै सक्कियो ।

बिहान कति बजे उठ्नुहुन्छ ?

साढे ५ बजे उठ्छु । त्यसपछि सबै साथीले अझै युवा हुनप¥यो भनेर पेट घटाउनको लागि क्बल जाने गरेको छु ।

यस्तो हँसिलो मान्छेलाई युवतीहरुको प्रस्ताव चैं निकै आउँछ होला है ?

मसँगै सबै खुबी थियो । केटा मान्छेसँग चाहीँ बच्चादेखि बुढासँग गफ गर्न सक्छु । तर, केटीमान्छे सँग गफ गर्न चाहिँ मलाई बच्चैदेखि अफ्ठ्यारो (लाज) लाग्ने । केटीसँग गफ गर्न सक्ने खुबी किन मसँग भएन भनेर मैले एक जनालाई सोधेको पनि थिएँ । उहाँले मलाई जसको घरमा दिदीबहिनीहरु त्यती धेरै हुँदैन ती केटाहरु केटीसँग गफ गर्न नसक्ने हुन्छन् भन्ने जवाफ दिनुभयो । मेरा दिदी बहिनीहरु पनि छैनन् । स्कुलमा पनि केटाहरु एकतिर केटीहरु अर्कोतिर । ९-१० कक्षामा पढ्ने बेलामा बल्ल कुरा गर्न शुरु गरेको होला । सायद त्यही भएर लज्जापन छ ।

तपाईले पनि कसैलाई प्रपोज गर्नु भएन ?

प्रपोज पनि गरिएन र प्रपोज पनि आएन । मेरो ऐरेन्ज म्यारिज भयो । मैले व्यापार गर्न थालेको बेला बिवाह भयो । तत्कालीन अवस्थामा छिटो बिवाह नगर्ने भन्ने सोच थियो । आमाबुवाले भन्नुभयो । २५ वर्षको उमेरमा बिवाह भयो ।

तपाईलाई राजाले मन्त्री पनि बनाएका थिए । राजतन्त्र ढल्दा कस्तो लाग्यो ?

अब के आयो के गयो भन्ने कुरा परिस्थितीले निर्धारण गर्ने कुरा हो । त्यस्तो केही फिल भएन । बीरेन्द्र राजा हुँदा पनि काम गरियो । ज्ञानेन्द्र राजा हुँदा पनि काम गरियो र अहिलेका प्रधानमन्त्रीहरुसँगपनि गरियो । हामीले जो भएपनि व्यवसायको हकहितको लागि कुरा गर्नुपर्छ ।

तपाई मन्त्री हुँदा के काम गर्नुभयो ?

बरु चेम्बर अध्यक्ष हुँदा काम गर्न सकिने रहेछ । तर,मन्त्रीले त्यो ऐन कानूनहरु जेरीजस्तो छ त्यो हुँदा मन्त्रीले चाहेर पनि काम गर्न नसक्ने रहेछ । मन्त्रालयको फुलमन्त्री बुद्धिमान तामाङ हुनुहुन्थ्यो । उहाँले तपाई मिलाउनुहोस भन्नुहुन्थ्यो । म त्यो बेला धेरै मन्त्रीको मध्यस्कर्ता थिए । मेरो कार्यकालमा निर्यात गर्नेहरुलाई ५ वर्षको मल्टीपल भिसा दिलाउने व्यवस्था भयो । यस्तै डिजल र मट्टितेलको भाउँ फरक थियो । त्यसलाई एउटै बनाइएको थिए ।

दरवारबाट मन्त्रीबन्ने प्रस्ताव आउँदा कस्तो लागेको थियो ?

मलाई मन्त्री बन्नको लागि दरबारबाट फोन आयो । मैले चेम्बर नै ठिक छ जस्तो लागेको थियो । चेम्बर आए त्यसपछि साथीभाईहरुलाई सुझाव मागे । साथीभाईहरुले यो चेम्बरको इज्जतको कुरा हो जानुपर्छ भनेपछि म मन्त्री भए ।

व्यवसायीहरु राजनीतिमा गइरहेका छन् । तपाईको सोच छैन ?

मेरो राजनीतिमा जाने कुनै सोच छैन । राजनीतिमा जाँदिन ।

चेम्बरको कार्यकाल सकिएपछि एफएनसिसीआईमा जाने होला नि ?

मलाई धेरैसाथीहरुले उद्योग वाणिज्य महासंघमा जानुपर्छ भनेका छन् । १० वर्ष अगाडि देखि साथीहरुले महासंघ जानुपर्छ भनेका थिए । विगतदेखि नै साथीभाईहरुले भनेपनि म उद्योग वाणिज्य महासंघको राजनीतिमा संलग्न हुने इच्छा छैन । महासंघका बरिष्ठ साथीहरुले भनेका थिए ।


पुष्प दुलाल