नाडा अध्यक्ष श्रेष्ठ भन्छन्: अटोमोबाइल्स क्षेत्र कसरी अनुत्पादक ?



काठमाडौं । नेपाल अटोमोबाइल्स डिलर्स एशोसियनका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल्स क्षेत्र अनुत्पादक नभएको बताएका छन् । राष्ट्र बैंकले अटोमोबाइल्स क्षेत्रलाई अनुत्पादक क्षेत्रमा परिभाषित गरेको भन्दै श्रेष्ठले व्यक्तिको  आबश्यकतासँग सम्बन्धित हुने विषय अनुत्पादक नहुँने बताए ।

राष्ट्र बैंकले गाडी खरिदको लागि अत्याधिक कर्जा दिएपछि बैंकरलाई बोलाएर यसमा प्रवाह गर्ने कर्जामा सिमा तोक्न भनेको छ । बैकर्स संघले अनौपचारिक रुपमा तत्काल गाडी खरिदका लागि कर्जा नदिने निर्णय गरेका छन् ।

‘ अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीको कारण सवारी साधनको माग थिएन, यो पटक माग बढेको कारण आयात बढेको हो, अघिल्लो वर्षसँग तुलना गरेर अत्याधिक आयात भयो भनेर भन्न मिल्दैन,’श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

बैंक तथा वित्तीय संस्थाले सवारी खरिदको कर्जा बन्द गर्ने हो भने सरकारले लिएको ६ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य पुरा नहुँने बताए । व्यक्तिले आवश्यक्ता भएको कारण २४० प्रतिशत थप कर भएपनि व्यक्तिगत सवारी खरिद गरेको भन्दै श्रेष्ठले राज्यले सार्वजनिक सवारी साधनको व्यवस्था सुधार नगर्दासम्म निजीमा माग बढेको बताए ।

‘ अटोमोबाइल्स क्षेत्रबाट स्वदेशमा १९ लाख रोजगारी सिर्जना भएको छ,यसबाट अटोमोबाइल्स पाट्र्सको व्यवसाय तथा वर्कसपको व्यवसाय चलेको छ,अर्थतन्त्रमा ठूलो योगदान गरेको अटोमोबाइल्स क्षेत्र अनुत्पादक हुँदैन, ’ उनले थपे ।

नाडाले पछिल्लो समय अटोमोबाइल्स क्षेत्रमा देखिएको समस्याको बारेमा थप छलफल गर्ने भएको छ । नाडा अध्यक्ष श्रेष्ठले धितो मुल्यांकन घटाउन सक्ने भएपनि ऋण रोक्नेजस्ता निर्णय अर्थतन्त्रको हितमा नहुँने बताए । उनले औपचारिक रुपमा भने बैंकबाट अहिलेसम्म यस्तो जानकारी भने नआएको बताए ।


क्लिकमान्डु