अब निक्षेप र कर्जामा ब्याजदर नबढ्ने



काठमाडौं । वाणिज्य बैंकले अब निक्षेप तथा कर्जामा थप ब्याजदर बृद्धि नगर्ने भएका छन् । बैकर्स संघको आज बसेको निर्णयले सामुहिक रुपमा निक्षेप तथा कर्जामा थप ब्याजदर बृद्धि नगर्ने निर्णय गरेको हो ।
यसभन्दा अगाडि व्यक्तिगत तर्फ मुद्दती निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याजदर नदिने सहमती गरेको थियो । निक्षेपमात्र ब्याजदर नबढाउने सहमती गरेको तर,कर्जाको ब्याजदर अत्याधिक बृद्धि गरेको भन्दै बैंकहरुको तीव्र विरोध भएको थियो । हिजोको भेटमा गभर्नर नेपालले अध्यक्षहरुलाई बचत खाताको ब्याजदर नबढाएको तथा ऋणको ब्याजदर बढाएकोमा असन्तुष्टी जनाएका थिए ।

वाणिज्य बैंकहरुले तत्कालको लागि अनुत्पादक मानिने घर निर्माण,गाडी खरिद तथा सेयर खरिदका लागि कर्जा दिन बन्द गर्ने भएका छन् । बैकर्स संघको आज बसेको कार्यसमितिको बैठकले तत्कालको लागि अनुत्पादक मानिने क्षेत्रमा कर्जा प्रवाह बन्द गर्ने निर्णय गरेको हो ।

बैकर्स संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगानाले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह बन्द गर्ने सहमती भएको जानकारी दिए । ‘ राष्ट्र बैंकले पनि अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह बन्द गर्न भनेको थियो, हामीसँग अहिले जति ऋण दिन सक्ने रकम छ त्यो उत्पादन मुलक क्षेत्रमा मात्र दिने सहमती भएको हो,’ ढुंगानाले क्लिकमाण्डूसँग भने ।

राष्ट्र बैंक गभर्नर डा चिरन्जिवी नेपालले हिजो बैकर्स संघ,डेभलपमेन्ट बैकर्स संघ तथा वित्त कम्पनी संघका अध्यक्षलाई बोलाएर अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह प्राथमिकता दिएको भन्दै असन्तुष्टी जनाएका थिए । उनले केन्द्रीय बैंकले सो क्षेत्रमा कर्जा प्रवाहमा सिमा तोक्ने भन्दै आफै सच्चिनको लागि आग्रह गरेका थिए ।


क्लिकमान्डु