नाफा बढेपनि घट्दो स्ट्याण्डर्ड चार्टर्डको इपीएस,कुमारीमा बढ्दो प्रतिफल, माछापुच्छ्रे स्थीर



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले नाफा बढाएपनि प्रति सेयर आम्दानी(इपिएस) घटेको ब्यालेन्ससिट प्रकाशित गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधीको वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा ७४ करोड रुपैयाँ नाफा गरेको छ । बैंकको अघिल्लो वर्षको पुस मसान्तमा नाफा ६१ करोड थियो ।

चार्टर्डले एक वर्षको अवधीमा १ अर्ब ५० करोड रुपैयाँले चुक्ता पुँजी बढाएर पुस मसान्तसम्ममा ३ अर्ब ७४ करोड चुक्ता पुँजी पु¥याएको छ । ८ अर्ब चुक्ता पुँजी पु¥याउन एफपिओ जारी गर्न लागेको चार्टर्डको प्रति सेयर आम्दानी(इपीएस) तथा पुँजीमा प्रतिफल(आरओई) भने घट्दो क्रममा रहेको देखिन्छ । अघिल्लो वर्ष इपीएस ५४.४५ रुपैयाँ रहेकोमा यो वर्ष घटेर ३९.४८ रुपैयाँमा झरेको छ । यस्तै आरओई अघिल्लो वर्ष १९.१८ प्रतिशत रहेकोमा यो वर्ष घटेर १७.९१ प्रतिशतमा आएको देखिन्छ । यसले बैंकले पुँजी बृद्धिको अनुपातमा नाफा बढाउन नसकेको देखिन्छ ।

बैंकले पुस मसान्तसम्ममा ब्याज आम्दानी मार्फत १ अर्ब कमाएको छ भने कमिसनबाट २५ करोड रुपैयाँ तथा विदेशी मुद्राको कारोवारबाट ३५ करोड कमाएको छ । कुल निक्षेप ६१ अर्ब रुपैयाँमा विदेशी मुद्राको हिस्सा २३ अर्ब रहेको बैंकले ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकले अत्याधिक कर्जा दिएको देखिन्छ । अघिल्लो वर्ष कर्जा पुँजी निक्षेप अनुपात(सीसीडी रेसियो) ६० प्रतिशत रहेकोमा अहिले ७७ प्रतिशत पुगेको छ ।

आजै वित्तीय विवरण प्रकाशित गरेको कुमारी बैंकले भने नाफासँगै आरओईमा समेत बृद्धि गरेको छ । एनसीसीसँग मर्जर तोडेर अन्य विकास बैंकलाई मर्जर गराउन लागेको बैंकले पुस मसान्तसम्ममा २७ करोड नाफा गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा २१ करोड रुपैयाँ थियो ।

२ अर्ब ६९ करोड चुक्ता पुँजी रहेको बैंकको ३९ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । सीसीडी रेसियो ७७.३७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ११.२८ प्रतिशत रहेको आरओई यो वर्ष १८.४८ प्रतिशत पुगेको छ । यस्तै बैंकको इपीएस २७.९५ रुपैयाँ रहेको छ ।

यस्तै माछापुच्छ्रे  बैंकले पुस मसान्तसम्ममा ५७ करोड नाफा गरको वित्तीय विवरण प्रकाशित गरेको छ । अघिल्लो वर्ष भने बैंकको नाफा ४० करोड थियो । बैंकको आरओई अघिल्लो वर्ष १८.४८ प्रतिशत रहेकोमा यो वर्ष घटेर १६.२३ प्रतिशतमा आएको छ । यस्तै बैंकको इपीएसमा भने अघिल्लो वर्षकै यथावत मुल्य २४.६६ रुपैयाँ रहेको छ ।
चार अर्ब ६६ करोड चुक्ता पुँजी रहेको बैंकले पुस मसान्तसम्ममा ५८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ५१ अर्ब कर्जा दिएको छ । बैंकको सीसीडी रेसियो ७९.५९ प्रतिशत छ ।


क्लिकमान्डु