गभर्नरले भनेः सिसिडीमा ‘अपवार्ड रिभिजन’ हुदैन, सिडी कार्यान्वयनको सोच छ



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालले कर्जा पूँजी निक्षेप अनुपात (सिसिडी) मा फेरबदल नहुने प्रष्ट पारेका छन् । बुधबार बैकरलाई राष्ट्र बैंकमै बोलाएर उनले यस्तो जानकारी दिएका हुन् ।

‘सिसिडीमा कुनै ‘अपवार्ड रिभिजन’ हुँदैन । यसमा कुनै दवाबले काम गर्दैन । उपयुक्त समयमा सिसिडीको सट्टाको कर्जा निक्षेप अनुपात (सिडी) प्रयोगमा ल्याउने नेपाल राष्ट्र बैंकको सोच छ । यस्तो अनुपात अनुगमन अवश्यक परेमा दिनहुँ गर्ने र सीमाभित्र नरहेमा आवश्यक कारबाही समेत अघि बढाइने छ,’ उनले भने ।

अहिले राष्ट्र बैंकले सिसिडी कार्यान्वयन गरिरहेको छ । अहिलेको ब्यवस्था अनुसार बैंकहरुले आफूसँग भएको निक्षेप र चुक्ता पूँजीको ८० प्रतिशतसम्म कर्जा दिन सक्छन् । अब सिडी मात्रै गणना गर्दा बैंकहरुले कर्जा दिदा आफ्नो पूँजीको गणना गर्न पाउने छैनन् । सिडी कार्यान्वयनमा आएमा निक्षेप रकमको ८० प्रतिशत मात्रै कर्जा दिन पाइने छ । यसो हुँदा बैंकहरुको कर्जा दिने क्षमता झन घट्नेछ ।

ऋणयोग्य रकमको अभाव भएको दर्शाई कर्जा पूँजी निक्षेप (सिसिडी) अनुपात बढाउन राष्ट्र बैंकलाई दबाब परेकोे उनले सुनाए ।

‘राष्ट्र बैंकलाई विभिन्न क्षेत्रबाट प्रत्यक्ष÷अप्रत्यक्ष दवाव आएको अवस्था छ । मौद्रिक अधिकारीले अल्पकालीन तरलता व्यवस्थापन गर्ने र भुक्तानीमै असहजता देखिएमा आपतकालिन तरलता सहायता गर्ने हो, कर्जा लगानीका लागि दीर्घकालीन साधन केन्द्रीय बैंकबाट उपलब्ध हुँदैन । नोट छापेर वित्तीय साधन उपलब्ध गराउने कुरै हुँदैन । तरलताको अभाव भयो भन्ने भ्रम तोड्नु प¥यो । तरलताको अभाव होइन, ऋण प्रवाह गर्न सिसिडीका कारण नपाएको अवस्था हो, पैसा नभएको अवस्था होइन,’ बैकर्सलाई सम्बोधन गर्दै उनले भने ।

‘बैंक रन हुने पो हो कि भन्ने भ्रम आमजनमानसमा जान दिनु भएन । त्यस्ताखाले क्रियाकलाप पनि गर्नु भएन,’ उनले भने ।


क्लिकमान्डु