नुवाकोटबाट २ हजार घुससहित पुनर्निर्माणमा खटिएका इन्जिनियर पक्राउ



नुवाकोट । भूकम्प प्रतिरोधी निजी आवास निर्माण गराउन खटिएका एक इन्जिनियर भूकम्पपीडितसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

जिल्लाका बेलकोटमा खटिएका ३० वर्षीय इन्जिनियर प्रवीणकुमार श्रीवास्तवलाई दुई हजार रुपैयाँ घुससहित प्रहरीले आज पक्राउ गरेको हो ।

रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं १ का श्रीवास्तव सहरी तथा भवन निर्माण डिभिजन कार्यालय, नुवाकोटमा करार सेवामा कार्यरत इन्जिनियर हुन् । श्रीवास्तवले बेलकोट–३ का बद्री तिवारीसँग २ हजार घुस लिएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

तिवारीको निर्माणाधीन घर निजी आवास अनुदान कार्यविधिअनुसार नभएको बताउँदै इन्जिनियर श्रीवास्तवले ५ हजार घुस मागेका तर तिवारीले २ हजारमात्र दिएको बताइएको छ ।

गाउँमा निर्माण हुने अधिकांश घर मापदण्डअनुसार निर्माण नभएको बताउँदै इन्जिनियर श्रीवास्तवले सोही वडामा निर्माण भइरहेका केही घरधनीसँग पनि रकम मागेको गाउँलेको दाबी छ । ‘सरकारले दोस्रो किस्ता रकम दिने भनेपछि इन्जिनियरलाई पैसा दिएको हो’ तिवारीले भने दोस्रो किस्ताको रकम आउँछ भने २, ५ पाँच हजार खर्च भए पनि होस् । बेलकोटकै रामशरण ओलीले घर निर्माणका क्रममा जग खन्ने बेलादेखि इन्जिनियर श्रीवास्तवसँग सल्लाह गरेर अघि बढाइएको भए पनि अन्तिमपटक मापदण्ड नपुगेको बताएर आफूसँग पनि रु पाँच हजार घुस मागेको दाबी गरे ।

टोलभरि निर्माण भइरहेका घरधनीसँग जनही ५ हजारका दरले रकम मागेपछि सोमबार बिहान गाउँपुगेका इन्जिनियर श्रीवास्तवलाई गाउँलेले समातेर प्रहरीको जिम्मा लगाएका हुन् ।

पक्राउ परेका श्रीवास्तवलाई कारबाहीको माग गर्दै बेलकोट गाविसका एक सयभन्दा बढी स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

जिप्रका, नुवाकोटका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले पक्राउ परेका इन्जिनियर करार सेवामा रहेका र सरकारी कर्मचारीमाथिको अनुसन्धान प्रक्रिया प्रहरीमार्फत नभई सहरी तथा भवन निर्माण कार्यालयको सल्लाहअनुसार अघि बढ्ने बताए । रासस


क्लिकमान्डु