दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम २५ करोड मात्र



साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक झण्डै १८ अंकले घटेर १३६४.५० मा बन्द भएको छ । कारोबार रकममा पनि ठूलो गिरावट आएको छ ।

अघिल्लो साताको कारोबारको अन्तिम दिन ५४ करोडको कारोबार भएकोमा आज भने २५ करोडमा खुम्चिएको छ । बैंकहरुले निक्षेपमा ब्याजदर बढाउन थाले सँगै घट्न थालेको नेप्से परिसूचकलाई नेप्से बोर्डले केहि दिन अघि गरेको अनलाईन ट्रेडिङमा १४ महिना भित्र जाने निर्णयले पनि थेग्न सकेन । सो निर्णय भएपछि लगानीकर्ता केहि हौसिएका थिए ।

अनलाइन कारोबार सेयर बजारको पूर्वाधार मात्र भएको र यसले दीर्घकालीन रुपमा बजार बढाउन वा घटाउन खासै भूमिका खेल्दैन भन्ने आजको कारोबारले पुष्टि गरेको छ । दीर्घकालीन रुपमा बजारलाई प्रभाव पार्ने भनेको कम्पनी र अर्थतन्त्रको अवस्थाको साथै लगानीकर्ताको मनोबिज्ञान हो । आज १२२ कम्पनीका ६ लाख ३३ हजार कित्ता सेयर कारोबार भएको छ । आज होटल बाहेक सबै उपसूचकहरु घटेका छन् । बैंकिङ २०.७२ अंकले घटेको छ भने बीमामा १२६.५५ अंकको गिरावट आएको छ ।

आज डिप्रोक्स बिकास बैंकको सबैभन्दा बढि ३ करोड २९ लाखको कारोबार भएको छ भने प्रभु बैंकको १ करोड ५८ लाखको कारोबार भएको छ । आज आइएलएफसी लघुबित्तका लगानीकर्ताले १० प्रतिशत कमाएका छन भने श्रीजना फाइनान्सका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु