किसानले मौसम सम्बन्धी सूचना मोबाइलबाट पाउने



पाल्पा । किसानले मौसमसम्बन्धी जानकारी मोबाइलमा पाउने भएका छन् ।

कृषि विकास मन्त्रालय र जल तथा मौसम विज्ञान विभागको सहकार्यमा सञ्चालित जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाअन्तर्गत परियोजना सुरु भएपछि उनीहरुले मौसमसम्बन्धी जानकारी मोबाइलमा पाउने भएका हुन् ।

परियोजनाले जिल्लामा ४३ वटा मोबाइल सेट र २०० सिमकार्ड वितरण गरेपछि किसानले घरमै मौसमसम्बन्धी जानकारी पाउन सक्नेछन् । मौसमसम्बन्धी जानकारी लिन किसानलाई सहज हुन थालेसँगै प्राकृतिक प्रकोपका कारण अन्नबाली क्षति कम हुने आशामा यहाँका किसान छन् ।

जलवायु परिर्वतनबाट कृषि उपजमा पर्न सक्ने जोखिमका विषयमा समयमै सतर्कता अपनाउन सहयोग गर्न जिल्ला कृषि व्यवस्थापन सूचना प्रणाली परियोजना सुरु भएको छ । परियोजनाको जिल्लास्तरीय कार्यान्वयन कार्यशाला गोष्ठीमा आयोजना निर्देशक विष्णुप्रसाद घिमिरेले जलवायु परिर्वतनका कारण कृषि क्षेत्रमा पर्ने जोखिम र क्षतिलाई न्यूनीकरण गर्न उक्त परियोजना नमुनाका रुपमा सञ्चालन गरिएको बताए ।

परियोजनाअन्तर्गत कृषि, जलवायु, प्रविधि, जडीबुटी र मौसमका बारेमा जानकारी दिन किसान कल सेन्टरबाट सेवा दिइनेछ । एसएमएस सेवा, डिजिटल बोर्ड, मौसमी सूचना, कृषक सिमकार्ड वितरणलगायका क्रियाकलाप सञ्चालन गरिने उनले बताए । रासस


क्लिकमान्डु