नेप्से पुरानै गतिमा, कारोबार रकम पनि ५४ करोडमा खुम्चियो



काठमाडौं । नेप्सेले कारोबारलाई अनलाइन सिस्टममा लाने निर्णय सँगै हिजो ६३ अंकले बढेको नेप्से आज ७.३८ अंकले घटेर बन्द भएको छ ।

अनलाइन कारोबार सेयर बजारको पूर्वाधार मात्र भएको र यसले दीर्घकालीन रुपमा बजार बढाउन वा घटाउन खासै भुमिका खेल्दैन भन्ने कुरा आजको बजारले पुष्टि गरेको छ । दीर्घकालीन रुपमा बजारलाइ प्रभाव पार्ने भनेको कम्पनी र अर्थतन्त्रको अवस्थाको साथै लगानीकर्ताको मनोबिज्ञान हो ।

कारोबार बन्द हुँदा नेप्से परिसुचक ७.३८ अंकले घटेर १३८२.४५ अंकमा नेप्से आएको छ ।
आज १ सय ४० कम्पनीका १२ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा ५४ करोड ४३ लाख रुपैयाँ मुल्य बराबरको सेयर कारोबार भएको छ ।

आज बिकास बैंक बाहेकका सबै उपसूचकहरु घटेका छन् । बीमा समूह २६.२७, होटल समूह ३२.७, जलविद्युत समूह २३.९७, बैंककिङ समूह ४.२५, वित्तय समूह ९.४८, उत्पादन समूह ३.४९ र अन्य समूह १६.२ अंकले घटेको छ । विकास बैंक भने १.०२ अंकले बढेको छ ।

आज नेरुडे लघुबित्त र राप्ती भेरी बिकास बैंकका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् भने सहयोगी बिकास बैंक र एनएमबी प्रमोटर सेयरका लगानीकर्ताले क्रमश ८.५५ र ६.७१ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु