क्यान इन्फोटेक सम्पन्न, ३ लाख १० हजार ९८ जनाद्वारा अवलोकन




काठमाडाैं । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा सञ्चालित ‘सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ’ मंगलबार सम्पन्न भएको छ । ६ दिनसम्म चलेको क्यान आज सम्पन भएको हो ।

प्रदर्शनीको अन्तिम दिन आज ५५ हजार ७ सय जनाले इन्फोटेकको अवलोकन गरेका छन् । यस वर्ष कुल ३ लाख १० हजार जनाले इन्फोटेक अवलोकन गरेका आयोजकले बताएका छन् ।

ई–नेपाल निर्माणलाई मध्यरनजर गर्दै स्मार्ट टेक्नोलोजी र डिजिटाइजेशनलाई प्राथमिकतामा राखेर आयोजना गरिएको प्रदर्शनीमा प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, ब्याट्री, सोलार, युपीएस, इन्डक्सन चुलो, ल्यापटपहरु तथा एन्ड्रोइड स्मार्ट टिभीहरु, स्मार्टफोन/ट्याब्लेट, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटी, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ, वाइफाइजडित बिशेष क्यामेरा, ड्रोन र रेकर्डरहरु, पावर बैंक, स्मार्टवाच, सेल्फी स्टिक लगायतका स्टलहरु आकर्षणको केन्द्र बनेका थिए ।

इन्फोटेकमा विशेषगरी मोबाइल ब्राण्डका स्टलहरुमा अवलोकनकर्ताको आकर्षण देखियो । ११ भन्दा बढी मोबाइल ब्राण्डले पछिल्ला मोडलका स्मार्टफोनहरु यसै प्रदर्शनीमार्फत् सार्वजनिक गरिएको थियो । सामसुङ, हुवावे, ओप्पो, जोप्पो, लेनोभो, माइक्रोम्याक्स आदि ब्राण्डले नेपाली उपभोक्तालाई लक्षित गरी निर्माण गरिएको मोबाइल सार्वजनिक एवं प्रदर्शनी गरेका थिए ।

त्यस्तैगरी आइएसपीहरु सुबिसु, वेबसर्फर, भायनेटका ब्रोडब्यान्ड इन्टरनेट र डिजिटल टिभीमा विशेष अफर राखिएको थियो । सुबिसुले यसै इन्फोटेकमार्फत् आफ्नो एचडी च्यानल पनि सार्वजनिक गरेको छ ।

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायत गरी १५८ कम्पनीका २२२ स्टल रहेका थिए ।

साथै हरेक वर्ष हुँदै आइरहेको क्यान आइसिटी कन्फेरेन्सको १७औं संस्करणको विषय ‘दिगो विकासका लागि आइसिटी’ (आइसिटी फोर डी) रहेको थियो । सो विषयमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विषयविज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुका साथै शिक्षा क्षेत्र, आइटी व्यवसायी र व्यवस्थापिक सांसदहरुबीच प्यानल डिस्कसन गराइएको क्यान महासंघले जनाएकाे छ ।


क्लिकमान्डु