दूरसंचार कम्पनी किनबेचको लागि नयाँ कानून बनाउँदै सरकार



काठमाडौं । सरकारले अब कुनैपनि दूरसंचार कम्पनी किनबेच गर्दा अनुमति लिनुपर्ने कानून बनाउने भएको छ । पछिल्लो समयमा एनसेलको शेयर स्वामित्व र किनबेचको विषय निकै विबादित बनेपछि सरकारले नयाँ कानून बनाउने तयारी गरेको हो ।

हालै सरकारी तहमा दूर संचार नीतिको समीक्षा वैठकमा यो विषयमा छलफल भएको र कानून बनाउने तयारीमा रहेको नेपाल दूर संचार प्राधिकरणले जानकारी दिएको छ ।

केही कम्पनीको हकमा यो विषय लागू भएको भएपनि दुई ठूला कम्पनीको हकमा भने लागू हुन नसकेको प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जानकारी दिए ।

‘किनबेचको लागि अनुमति लिनुपर्ने विषय यसअघि नै स्मार्टसेल र यूटिएलको यूनिफाइड लाइसेन्समा नै उल्लेख छ, तर एनसेल र नेपाल टेलिकमको अनुमति पत्र पहिले नै जारी भएको हुँदा यस्तो व्यवस्था छैन,’ उनले भने ।

यस्तो कानून बनाउन मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिईसकेको भएपनि हाल त्यस्तो कानून तत्काल बनाउन सकिने अवस्था छैन ।

‘अहिले तत्काल लागू गर्नेभन्दा पनि कानून बनाउने विषयमा छलफल भएको छ र अझै केहि समय लाग्नेछ,’ अध्यक्ष झाले भने ।

यस्तो काूनन बनाउने विषयमा यसअघि पनि कुरा उठेको तर कम्पनी रजिष्ट्रारको कार्यालयले आफ्नो अधिकारमा हस्तक्षेप गर्न खोजेको भन्दै पत्र नै पठाएपछि प्रक्रिया रोकिएको अध्यक्ष झाले जानकारी दिए । उनले यो कानूनी अधिकारको समस्या भएको हुँदा नयाँ कानून बनाएर मात्र किनबेचमा अनुमतिको प्रावधान लागू हुने बताए ।


क्लिकमान्डु