पाल्पाको एउटै टोलबाट एक करोडको सुन्तला बिक्री
पाल्पा । छहरा गाविस–५,बाहुनटोलका किसानले रु एक करोड बराबरको सुन्तला बिक्री गरेका छन् ।
व्यावसायिक रुपमा सुन्तलाखेती गर्न थालेपछि यहाँका ४६ घरपरिवारले सुन्तलाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । सुन्तला किसानले एउटै याममा प्रतिव्यक्ती रु ५० हजारदेखि रु चार लाखको सुन्तला बिक्री गर्दै आएका स्थानीय दुर्गा कोइराला बताउँछन् ।
किसानले सुन्तला प्रतिकिलो रु ५० मा गाउँबाटै बिक्री हुन थालेको छ । ‘यथेष्ट आम्दानी हुन् थालेपछि युवादेखि वृद्धसम्म सुन्तलाखेती गर्न हौसिएका छन्,’ अगुवा किसान यमलाल कोइरालाले भने । परम्परागत खेती गर्न छाडेर अहिले प्रत्येक घरपरिवारले १०० देखि ५०० सम्म सुन्तलाको बोट लगाएका छन् ।
कोइरालाले ३४ वर्षदेखि सुन्तलाखेती गर्दै आएका छन् । सुन्तलाखेतीबाटै ७६ वर्षिय कोइरालाले सुन्तलाखेती गरेरै जीवन निर्वाह गर्दै आएका छन् । यस वर्ष उनले सुन्तला बेचेर रु तीन लाखसम्म आम्दानी गरेका छन् । व्यावसायिक सुन्तलाखेती गर्न थालेसँगै यहाँका युवा विदेश पलायन हुने क्रम समेत रोकिएको छ । रासस