गोरखाका विभिन्न ठाउँमा सिस्मोमिटर जडान



गोरखा । जापानको टोकियो विश्वविद्यालयको सहयोगमा त्रिभुवन विश्वविद्यालय, भूगर्भविज्ञान विभागले गोरखाको विभिन्न ठाउँमा सिस्मोमिटर जडान गरेको छ । आरुघाट, आर्खेत, लापुबेँसी, घ्याम्पेसाल, चनौटे, बालुवा, बारपाक, लाप्राक र हंशपुरमा सिस्मोमिटर जडान गरेको हो ।

भूकम्पको केन्द्रविन्दु गोरखाको विभिन्न भागमा अझै भूकम्पको सम्भावना कायमै रहेकाले यसको अध्ययन गर्न सिस्मोमिटर जडान गरेको भूगर्भविद् डा. दण्डपाणि अधिकारीले जानकारी दिए । गत वर्ष रसुवादेखि हेटौँडासम्म ३५ वटा यस्ता सिस्मोमिटर राखिएको थियो ।

उनले भने,’जापानको टोकियो विश्वविद्यालयको सहयोगमा ७० वटा सिस्मोमिटर ल्याएर जडान गरियो ।’ धादिङ, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, दोलखामा पनि सिस्मोमिटर जडान गर्ने उनको भनाइ छ । तीन महिनासम्म जमिनमुनि के कस्तो गतिविधि भइरहन्छ भन्ने बारेमा सिस्मोमिटरले अध्ययन गर्ने अधिकारीले बताए ।

सिस्मोमिटरले भूकम्पको कम्पन जमिनमुनि कहाँ छ,कति गहिराइमा छ भन्ने बारेमा जानकारी दिनेछ । एक साता लगाएर विभिन्न ठाउँमा सिस्मोमिटर जडान गरेको भन्दै आउँदो वैशाखमा सिस्मोमिटरले गरेको अध्ययन सङ्कलन गरी थप अध्ययन गर्ने उनले बताए । रासस


क्लिकमान्डु