शर्तसहित ब्रोकरको शाखा खोल्न दिइने




काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर ब्रोकरको शाखा बिस्तार गर्न अनुमति दिने निर्णय गरेको छ । शुक्रबार बसेको नेप्से बैठकले ब्रोकर शाखा विस्तार गर्न दिने निर्णय सहित धितोपत्र बोर्डमा पत्राचार गर्ने निर्णय गरेको हो ।

धितोपत्र बोर्डले ब्रोकर शाखा विस्तार सम्बन्धमा नेप्सेको राय सहित सिफारिस मागेपछि नेप्सेले यस्तो निर्णय गरेको हो । ब्रोकरले शाखा बिस्तारमा चासो देखाएको र बोर्डले पनि नेप्सेको राय सहित सिफारिस मागेकोले सोही अनुसारको निर्णय भएको नेप्से स्रोतले जानकारी दियो ।

‘ब्रोकरले मागेको ठाउमा शाखा बिस्तार गर्न दिनु उपयुक्त हुने रायसहितको सिफारिस गर्ने निर्णय भएको छ, धितोपत्र बोर्डले हुन्छ भनेको अवस्थामा अब चाढै नै ब्रोकरको शाखा विस्तार हुन्छ,’ नेप्सेका एक संचालकले क्लिकमाण्डूसँग भने ।

शाखा बिस्तारको लागि केही शर्त भने तोकिएको छ । शाखा बिस्तार गर्ने ब्रोकरको नेटवर्थ कम्तिमा पनि १ करोड रुपैयाँ हुनै पर्ने र आगामी असार मसान्तसम्ममा नेटवर्थ २ करोड रुपैयाँ हुनै पर्ने शर्त तोकिएको नेप्से संचालकले जानकारी दिए ।

यसअघि ब्रोकरको ‘रिमोट वर्क स्टेसन’ दिने भनिएकोमा अब भने शाखा नै दिने निर्णय पनि नेप्सेले गरेको छ ।

ब्रोकरले देशभरका विभिन्न ४१ स्थानमा शाखा विस्तार गर्न नेप्सेसँग माग गरेका छन् । अरुण सेक्युरिटजले महेन्द्रनगर, ओपल सेक्युरिटिजले इटहरी, मार्केट सक्युरिटिज एक्सचेन्जले पोखरा र जेएफ सेक्युरिटिजले दमकमा शाखा विस्तारको अनुमति मागेका छन् ।

यस्तै आसुतोष ब्रोकरेज एण्ड सेक्युरिटिजले इटहरी, प्रज्ञान सेक्युरिटिजले विराटनगर, मल्ल एण्ड मल्ल स्टक ब्रोकिङले बनेपा, प्रिमो सेक्युरिटिजले बीरगन्ज, सगरमाथा सेक्युुरिटिजले इटहरी र सिल्पा सेक्युरिटिजले नारायणगढमा शाखा विस्तारको अनुमति मागेका छन् ।

नेप्सेले दिएको जानकारी अनुसार मिदास स्टक ब्रोकिङले बुटबल, सिप्रबी सेक्युरिटिजले बीरगन्ज, स्वेता सेक्युरिटिजले बीरगन्ज, एसियन सेक्युरिटिजले बुटबल, श्रीकृष्ण सेक्युरिटिजले विराटनगर, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले बुटबल, भिजन सेक्युरिटिजले बनेपा र कोहिनूर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले पोखरामा शाखा विस्तारको अनुमति मागेका छन् ।

यस्तै सेक्युअर्ड सेक्युरिटिजले बिर्तामोड, स्वर्णलक्ष्मी सेक्युरिटिजले हेटौडा, सुमेरु सेक्युरिटिजले बिर्तामोड, क्रियटिभ सेक्युरिटिजले बनेपा, लिन्च स्टक मार्केटले बुटबल, सानी सेक्युरिटिजले नारायणघाट, साउथ एशियन बुल्सले विर्तामोड र डाइनामिक मनी म्यानेजर सेक्युरिटिजले बनेपामा शाखा विस्तार गर्न माग गरेका हुन् ।

इम्पेरियल सेक्युरिटिजले नेपालगन्ज, कालिका सेक्युरिटिजले नेपालगन्ज, निभ सेक्युरिटिजले इटहरी, त्रिशक्ति सेक्युरिटिजले पोखरा, अनलाइन सेक्युरिटिजले धरान, क्रिष्टल कन्चनजंघा सेक्युरिटिजले बिराटनगर र अक्सफोर्ड सेक्युरिटिजले नारायणघाटमा शाखा विस्तारको अनुमति मागेका छन् ।

यस्तै सुन्धारा सेक्युरिटिजले बेशिसहर, इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपालले पोखरा, सेवा सेक्युरिटिजले हेटौडा, भृकुटी स्टक ब्रोकिङले इटहरी, श्री हरि सेक्युरिटिजले बिर्तामोड, आर्यातारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले बुटबल, नासा सेक्युरिटिजले बीरगन्ज र दिब्य सेक्युरिटिज एण्ड स्टक हाउसले बागलुङमा शाखा विस्तार गर्न अनुमति मागेका छन् ।


क्लिकमान्डु