हेलिकप्टरबाट पैसा लगेर भूकम्प पिडितलाई पहिलो किस्ता बितरण गरियो



ओखलढुङ्गा । भूकम्प गएको झण्डै २१ महिनापछि जिल्लाको दुर्गम क्षेत्रमा पर्ने गाम्नाङ्गटार र टार केरावारी गाउविकास समितिका भूकम्पपीडित परिवारले सरकारले दिने पहिलो किस्ता अनुदान रकम सहित एकिकृत सेवा गाउँमै पाएका छन् ।

त्यस क्षेत्रका झण्डै सात सय घरपरिवारलाई करिव तीन करोड ५० लाख रुपैया गाउँमै लगेर वितरण गरिएको छ । पहिलो किस्ता वापत प्रतिपरिवारले ५० हजार रुपैया पाएका छन् । सदरमुकाम देखि सो स्थल करिव दुई दिनको पैदल दुरीमा पर्दछ ।

स्थानीय प्रशासनले नागरिकता, जग्गापास, राहदानी, कृषि, स्वास्थ्य शिविर, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचय पत्र लगायतका एकिकृत घुम्ती शिविर सेवा समेत उक्त स्थानमा सञ्चालन गरेको छ ।

सांसदहरु रामहरि खतिवडा, यज्ञराज सुनवार र हर्कवोल राईले श्री ग्रामोदय युगकवि सिद्धिचरण उच्च मावि गाम्नाङ्गटारमा आज आयोजित कार्यक्रममा सरस्वती वस्नेत, कल्याणी रोका र टेकबहादुर बुढाथोकीलाई पहिलो किस्ता वापतको अनुदान रकम प्रदान गरेका थिए । यस्तै प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले नागरिकता प्रदान गरेर प्रशासनीक सेवाको शुरुवात गरे ।

अहिलेसम्म टहरामै ऋण काँढेर कष्टले वसेका छौ, अव पहिलो किस्ता पाएपछि घर निर्माणको कार्य अघि बढाउँछौ, टारकेरावारीका ६२ वर्षिय यज्ञबहादुर अछामीले भने ।

जिल्लाका ५० मध्ये पकली, टार र रगनी गाविसमा अझै अनुदानको पहिलो किस्ता वितरण हुन सकेको छैन ।


क्लिकमान्डु