विकासको नमुना देखाउँदै धुर्मुस सुन्तली फाउन्डेसन, मुसहर बस्तीको निर्माणकार्य तीव्र




महोत्तरी । धुर्मुस– सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा अघि बढेको छ ।

कठ्यिाङ्ग्रिदो जाडोको प्रवाह नगरी महोत्तरीको बर्दिवास नगरपालिका– २ स्थित मुसहर बस्तीको १२ दिनमा १५ प्रतिशत काम सम्पन्न भएको छ । बस्ती निर्माणकार्यमा झन्डै तीन सय कामदार दैनिक खटिएका छन् ।

हालसम्ममा बस्तीमा निर्माण हुने ५० वटा घरमध्ये ४० वटा घरको जग खनिसकिएको छ । ३२ वटा घरको जग उठाउने कार्यसम्पन्न भइसकेको छ । पिलिन्थ लेवलसम्मको पाँचवटा घरको निर्माणकार्य सकिएको धर्मुस– सुन्तली परियोजनाका संयोजक अर्जुनप्रसाद न्यौपानेले जानकारी दिए ।

श्रमदान र आर्थिक सहयोगको लागि उत्साहित युवा पुस्ता, संघ संस्थाका पदाधिकारी आउने क्रम जारी छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीलेसमेत श्रमदान र सुरक्षा दिने गरेका छन् ।

बर्सौंदेखि रोग, भोक, अशिक्षा, अनिद्रा र विकासबाट वहिष्करणमा परेका मुसहरको आफ्नो घर बन्न लागेपछि उत्साहित देखिएका उनीहरु दिनहुँ झन्डै एक सय मुसहर श्रमदानमा खटिएका एकिकृत नमुना मुसहर बस्तीका उपभोक्ता समितिका अध्यक्ष मञ्जय सदा मुसहरले बताए ।

‘दाउरा लिन जाने काम छाडेर हुलका हुल गाउँले बस्ती निर्माणमा श्रमदान गरिरहेका छन्,’ उनले भने, ‘कोही सिमेन्ट घोल्छन् । कोही बालुवा, ढुङ्गा, गिट्टी ओसारछन् । कोही गाउँलाई काममा खटाउँछन् यी र यस्ता कार्य गरेर हामी बस्ती निर्माण श्रमदान गरिरहेका छौंँ ।’

‘मुसहरहरुले आफूहरुको जीवन फेरिन्छ भनेर सपना पनि देखेका थिएनन् । तर, धर्मुस र सुन्तली जस्ता मायालु मनको सहयोग पाएर मुसहर फुरुङ्ग छन्,’ सामाजिक अभियन्ता आरके महतोले भने, ‘कोही बाढीपीडित, त कोही भूकम्पपीडित, त कोही आगलागीपीडित सबै पीडितैले राहत र सहयोग पाइरहेका छन् । तर, मुसहरको जन्मिने सन्तान जन्मिने वित्तिकै पीडित भएरै जन्मिन्छ । उनीहरुको पीडा कसैले सुन्दैनन् बरु हेला गर्छ । मुसहरको लागि धुर्मुस र सुन्तली भगवान भएर मुसहर बस्तीमा पसें । सहयोगी हात भेटिएर बर्दिवासका मुसहरको पुस्तौँंपछि उद्धार र राहत मिल्दैछ । ओत लाग्ने घर बन्दै छ । बच्चा स्कुल जाँदैछन् ।’ रासस


क्लिकमान्डु