केन्द्रीय तथ्याङ्क विभागले गर्यो जिपिएस सर्बे, भुकम्पका कारण ८ लाख ७७ हजार ६ सय ७१ घर क्षतिग्रस्त




काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले आगामी एक महिनाभित्र सम्पूर्ण भूकम्प प्रभावित क्षेत्रको लगत सार्वजनिक गर्ने बताएको छ ।

केन्द्रका उपमहानिर्देशक रुद्र सुवालले नेपालको इतिहासमा विभागले पहिलोपल्ट भौगोलिक अवस्था प्रणाली (जिपिएस) बाट तथ्याङ्क संकलन गरी सार्वजनिक गर्न लागेको जानकारी दिए ।

यसअघि केन्द्रले अतिप्रभावित १४ जिल्लाको लगत संकलन गरिसकेको छ । प्राप्त लगतलाई केन्द्रले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हस्तान्तरण गराइसकेको छ ।

तथ्याङ्क सङ्कलनका लागि केन्द्रले २५ सय इन्जिनियर खटाएको थियो । जस्मा १६ सय ट्याबलेटबाट क्षतिग्रस्त (आंशिक तथा पूर्ण ) आठ लाख ७७ हजार ६ सय ७१ घरका एक करोड फोटो सङ्कलन गरेको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौँमा ४० हजार ९ सय १९ पूर्ण र १० हजार २ सय ९ आंशिक घर क्षतिग्रस्त भएको छ । सरकारले पूर्ण क्षतिग्रस्त घरलाई तीन लाख रुपैयाँ र आंशिक क्षतिग्रस्त घरलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

ललितपुरमा २२ हजार ५ सय ५५ पूर्ण, आंशिक सात हजार ७ सय ९० र भक्तपुरमा २३ हजार ५ सय ३२ पूर्ण र आंशिक ६ हजार ६ सय ६५ घर क्षति भएका छन् ।

अतिप्रभावित ११ जिल्ला क्रमशः गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, सिन्धुली, ओखलढुङ्गा, रामेछाप, र दोलखा जिल्लाबाट पूर्ण विवरण आइसकेको भए पनि अन्य प्रभावित १७ जिल्लाबाट दुई लाख घर पूर्ण र आंशिक) क्षति भएता पनि हालसम्म ११ हजार घरको मात्र विवरण संकलन भएको छ । रासस


क्लिकमान्डु