निजगढ र पोखरा विमानस्थल छिटो निर्माण गर्न विकास समितिको निर्देशन



काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले सरकारलाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल छिटो निर्माण गर्न निर्देशन दिएको छ ।

विकास समितिको आज बसेको बैठकले निजगढ र पोखरा क्षेत्रीय विमानस्थल छिटो निर्माण गर्न सरकारलाई निर्देशन दिएको हो ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलले हवाई चाप धान्न नसकेर र विभिन्न कारणले अवरुद्ध हुन थालेपछि विकास समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल छिटो निर्माण गर्न सरकारलाई दवाव दिएको हो । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको धावनमार्गमा कुनै समस्या आएमा विमानस्थल बन्द गर्नुपर्ने अवस्था आउने गरेको छ ।

नेपालमा दोश्रो अन्तर्राष्ट्रिय स्तरको धावन मार्ग निर्माण भएमा नेपाल आउने अन्तर्राष्ट्रिय एयरलाइन्सलाई नेपाल भित्रै डाइर्भट गर्न सकिने भएकाले विकास समितिले सो निर्देशन दिएको हो ।

करिब दुई वर्ष अगाडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)मा टर्किस एयरको जहाज दुर्घटनाग्रस्त हुँदा दुई दिनसम्म अन्तर्राष्ट्रिय उडान/अवतरण ठप्प भएपछि पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाले निजगढ विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड दिएका थिए ।
सरकारले निजगढ विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनका लागि ०६६ सालमा कोरियन कम्पनी ल्याण्डमार्कलाई दिएको थियो । ल्याडमार्कले ०६८ सालमै सरकारलाई विमानस्थलको संभाव्यता अध्ययन प्रतिवेदन बुझाईसकेको छ ।

तीन चरण निर्माण गरिने विमानस्थल निर्माणका लागि ल्याण्डमार्कले बुझाएको प्रतिवेदनमा ७ खर्ब रुपैयाँ लाग्ने उल्लेख छ । तर स्वदेशी कम्पनीहरुले २ खर्बमै विमानस्थल बनाउन सक्ने दाबी गरेका कारण विमानस्थल निर्माण अझ सम्म अन्यौलमा रहेको छ ।

तर विकास समितिले ल्याण्डमार्कले बुझाएको सम्भाव्यता अध्ययन रिर्पोटमा अस्पष्टता एवं पारदर्शीताको अभाव रहेकोले उक्त सम्झौता यथाशीघ्र पुनरावलोकन गरी निष्कर्षमा पुग्न पनि निर्देशन दिएको छ ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि निजगढवासीले सरकारलाई दबाव दिँदै आएका छन् ।

त्यसैगरी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराको छिनेडाँडामा निर्माण हुनेछ । क्षेत्रीय विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी सिएएमसी र सरकारबीच सम्झैता भइसकेको छ । विमानस्थल निर्माणको कुल लागत २१ अर्ब ४७ करोड रुपैयाँ लाग्ने बताइएको छ । नागरिक उड्डयन प्राधिकरणले सन् २०१९ मा उक्त विमानस्थल सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखेको छ ।

पोखरामा क्षेत्रीय विमानस्थल निर्माणका लागि पोखरेलीहरुले सरकारलाई ठूलो दबाब दिँदै आएका छन् । विमानस्थल निर्माण गर्न दबाब दिँदै पोखराका पर्यटन व्यवसायी तथा सरोकारवालाहरु अनशन समेत बसेका थिए । उनीहरुले राजधानी आएर विमानस्थल निर्माण गर्न सरकारलाई दबाब समेत दिएका थिए ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि त्यहाँको पर्यटन उद्योगको विकासमा निकै ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु