नेपाल एसबिआई बैंकको हकप्रद शेयर निष्काशन प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त



काठमाडौं । नेपाल एसबिआई बैंकले बैंकको हकप्रद शेयर निष्काशनका लागि निष्काशन प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ । बैंकको १ करोड ९९ लाख १९ हजार ४२३.६० कित्ता हकप्रद शेयर निष्काशनका सम्बन्धमा बैंक र एनएमबी क्यापिटल बीच निष्काशन सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरको उपस्थितिमा बैंकको तर्फबाट डेपुटी सिइओ तथा प्रमुख संचालन अधिकृत शुभकान्त कानूनगो र एनएमबी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले एक कार्यक्रमकाबीच हकप्रद शेयर निष्काशन प्रबन्ध सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।

असार मसान्तभित्र बैंकको चुक्ता पूँजी ८ अर्ब पुयाउने क्रममा बैंकको गत वर्ष सम्पन्न २२ औँ साधारण सभाको निर्णय अनुसार बैंकले हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हाल बाँडफाँडको क्रममा रहेको फर्दर पब्लिक इश्यू (एफपिओ) र आगामी २३ औँ साधारण सभा समक्ष प्रस्तावित २८ प्रतिशत वोनश शेयर वितरण पश्चात हकप्रद शेयर निष्काशन हुने हुँदा प्रत्येक १० कित्ता शेयर वराबर ४ कित्ताका दरले अर्थात १०ः४ को अनुपातमा सो हकप्रद शेयर निष्काशन हुने बैंकले जनाएको छ ।


क्लिकमान्डु