नेप्से दोहोरो अंकले घट्यो, कारोवार रकममा वृद्धी



साताको शुरुवाती दिन नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से ११ दशमलव ६३ अंकले घटेर १४६६ दशमलव ०९ बिन्दुमा झरेको छ । कारोबार रकममा भने भारी बृद्धि भएको छ । गत साताको कारोबारको अन्तिम दिन ३२ करोडबाट बढेर आज ५९ करोडका हाराहारीे कारोबार भएको छ ।

बजारमा तरलता अभाव छ भनिएको र ठूलो धनराशी नेपाल लाइफ इन्स्योरेन्सको एफपिओमा फसेको समयमा समेत कारोबार रकममा ठूलो बृद्धि देखिएको छ । प्रभु बैंकको प्रमोटर सेयरको ठूलो कारोबारका कारण रकम बढेको हो ।

आज कुल १२९ कम्पनीको ७६ लाख ५१ हजार ५ सय ४० कित्ता सेयर कारोबार भएको छ ।

आज बित्त बाहेक सबै सूचक घटेका छन् भने ‘क’ बर्गको कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ०७ अंकले घटेको छ ।
आज प्रभु बैंकको प्रमोटर सेयरको मात्र २० करोडको कारोबार भएको छ भने निकट भविष्यमानै एफपिओ ल्याउने तयारी गरिरहेको स्ट्यान्डर्ड चार्टड बैंकको पनि झण्डै पौने ६ करोडको कारोबार भएको छ ।

४०० प्रतिशत हकप्रद घोषणा गरेको ग्रिन डेभलप्मेन्ट बैंकका लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् भने कर्णाली बिकास बैंकका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् ।


क्लिकमान्डु