सात वर्षअघिकाे सम्झौता अलपत्र, सिङ्गटी–लामोसाँघु प्रसारण लाइनमा समस्या



दोलखा । दुई वर्षमा पूरा गर्ने गरी सात वर्षअघि सम्झौता गरेको सिङ्गटी–लामोसाँघु प्रसारण लाइनको काम अहिलेसम्म सुरु भएको छैन ।

सरकारी तहबाटै उपेक्षा भएकाले आयोजनाको काम नै नभएको स्थानीयवासीले गुनासो गरेका छन् ।

सिङ्गटी–लामोसाँघु प्रसारण लाइन समयमा नबन्दा जिल्लामा निर्माणाधीन  आयोजनाका काममा समेत समस्या परेको छ । दोलखाको उत्तरी क्षेत्रमा बनेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खेर गइरहेको स्थानीय रामशरण ठकुरीले गुनासो व्यक्त गरे ।

विद्युत् प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग सन् २०१० अक्टोबरमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार दुई वर्षभित्र प्रसारण लाइन र सिङ्गटीको सवस्टेशनसमेत निर्माण गर्ने रहेको छ ।

सम्झौताअनुसार सवस्टेसनका लागि रु साढे १७ करोड र प्रसारण लाइनका लागि करिब रु ४२ करोडमा अरावलीले ठेक्का लिएको हो । तर कम्पनीले सवस्टेसनको ८० प्रतिशत काम गरेको छ भने प्रसारण लाइनको खासै काम हुन सकेको छैन् । समयमा काम पूरा नगरेपछि ठेक्काको म्याद थप गरेपछि भारतीय ठेकेदार कम्पनीसमेत सम्पर्कविहीन हुँदा काम अघि बढ्न नसकेको बताइएको छ ।

दोलखाको उत्तरी क्षेत्रमा उत्पादन हुने जलविद्युत्कै लागि लक्षित गरी नेपाल विद्युत् प्राधिकरणले सिङ्गटी–लामोसाँघु १३२ केभी प्रसारण लाइनको ठेक्का लगाएको हो । प्रसारण लाइन सिङ्गटीदेखि सिन्धुपाल्चोकको लामोसाँघुसम्म ४० किलोमिटर मात्र रहेको छ । प्रसारण लाइनमा १२१ वटा टावर निर्माण गर्नुपर्छ । रासस


क्लिकमान्डु